Logo
Logo

हात्ती वनभोजका लागि रकम भुक्तानी नगर्न निर्देशन



काठमाडौँ । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले हात्ती वनभोजका लागि रकम भुक्तानी नगर्न निर्देशन दिएका छन् ।

हात्तीलाई वनभोज खुवाइएको विषयमा निजी क्षेत्रका पर्यटन व्यवसायीले विरोध जनाएपछि उनले हात्ती वनभोजका लागि एक रुपैयाँ पनि भुक्तानी नदिने बताएका हुन् ।

पर्यटन प्रवद्र्धन तथा वन्यजन्तु बासस्थान व्यवस्थापन समिति सौराहाले गत बिहीबार सरकारी हात्तीसार र निजी व्यवसायीले पालेका करिब ७० हात्तीलाई वनभोजका रुपमा केरा, चना, भुइँकटर, स्याउ, उखु, सखर, खर्बुजा र खिर खुवाइएको थियो ।

प्रदेश सरकारको आर्थिक सहयोग तथा चितवन निकुञ्जको सहकार्यमा हात्ती वनभोज कार्यक्रम गरिएको हो । हात्ती वनभोज कार्यक्रम पर्यटनमन्त्री श्रेष्ठले शुभारम्भ गरेका थिए ।

उनले सफारी पर्यटनको विकासमा प्रदेश सरकारले उपस्थिति जनाउने भनेको उक्त कार्यक्रममा केही विरोधी समूहले नकारात्मक हल्ला फैलाएकाले हाललाई उक्त शीर्षकमा बजेट नदिन मन्त्रालयलाई निर्देशन दिएको बताए । उनले चितवनको पर्यटन विकासको लागि बाघमारा मध्यवर्ती सामुदायिक वनमा क्यानोपी वाक ब्रिज निर्माणको लागि प्रदेश सरकारले दुई करोड विनियोजन गरेको जानकारी दिए।

चितवनको पर्यटन प्रवद्र्धधनका लागि हात्तीलाई खाना खुवाउन प्रदेश सरकारले पनि पाँच लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो तर स्थानीय केही व्यक्ति र समूहले प्रदेश सरकारले गरेको प्रतिबद्धतालाई विवादमा तान्न खोजेपछि पर्यटनमन्त्री श्रेष्ठ उक्त प्रतिबद्धताबाट पछाडि हटेको बताइएको छ ।

समितिका अनुसार वनभोज कार्यक्रममा हात्तीलाई खुवाउन एक लाख ६३ हजार ३००, अतिथि सत्कारमा ४३ हजार ९१४, प्रचारमा पाँच हजार र हात्तीसारेलाई कुची बनाएबापत ज्याला १० हजार खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस्