Logo
Logo

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्माको उम्मेदवारी



काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्माले उम्मेदवारी घोषणा गरेका छन् । परिषद्का वर्तमान उपाध्यक्षसमेत रहनुभएका शर्माले आज पत्रकार सम्मेलन गरी आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा अध्यक्ष पदका उम्मेदवार शर्माले ठमेललाई आन्तरिक र बाह्य पर्यटकको विशेष पर्यटकीय क्षेत्र बनाउनका लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको जानकारी दिए । उनले ठमेल क्षेत्रको सुरक्षाका लागि ५०० सिसी क्यामरा जडान गर्ने, सादा पोशाकमा प्रहरी परिचालन गर्ने, ठमेलभित्र ट्राफिक व्यवस्थापनलाईचुस्त दुरुस्त बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।

“ठमेल क्षेत्रको फोहोर व्यवस्थापन, सडक तथा ढल व्यवस्थापन, तार तथा सडक बत्ती व्यवस्थापन, विकृतिमुक्त ठमेल, व्यवस्थित ठमेल, घरबेटी व्यवसायीबीच सुमधुर सम्बन्ध कायम गर्न अध्यक्ष पदमा मेरो उम्मेदवारी हो”, उनले भने । शर्माले ठमेलभित्रको स्थानीय रीतिरिवाज र संस्कृतिको जगेर्ना गर्दै ठमेललाई पर्यटकको अनिवार्य गन्तव्यका रूपमा विकास गरिने बताए ।

ठमेलभित्र व्यवस्थित पार्किङ, ठमेललाई अझ सुन्दर, व्यवस्थित र पर्यटकको आकर्षक केन्द्र बनाउन गोलमेच सम्मेलन गर्ने, ठमेलका समस्या थाहा पाउनका लागि गुनासो बक्स स्थापना गर्ने, ठमेलभित्रका व्यवसायी र घरबेटीलाई तालिम प्रदान गर्ने, पर्यटन व्यवसायी कार्ड उपलब्ध गराइने बताइएको छ । तारको व्यवस्थापन र होर्डिङ बोर्डलाई व्यवस्थित बनाइने शर्माले बताए ।

अध्यक्ष शर्माको समूहबाट उपाध्यक्षमा सहदेव धमला र महासचिवमा बद्री तिमल्सिनाले उम्मेदवारी घोषणा गरेका छन् । बाँकी पदमा पनि चाँडै नै उम्मेदवारी घोषणा गर्ने अध्यक्षका उम्मेदवार शर्माले जानकारी दिए । अध्यक्षका उम्मेदवार शर्मा ठमेल पर्यटन विकास परिषद्को सदस्य, महासचिव र उपाध्यक्ष भइसक्नुभएको छ । विसं २०४७ सालमा स्थापना भएको ठमेल पर्यटन विकास परिषद्मा हाल एक हजार ८०० भन्दा बढी व्यवसायी तथा घरधनी आबद्ध छन् । परिषद्को २७ औँ साधारणसभा एवं निर्वाचन यही असार ३२ गते काठमाडौँमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्