Logo
Logo

सचिव र डिजीलाई बुझाउन ल्याइएको १५ लाख घुस बरामद


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ साउन ।
उर्जा तथा सिंचाई मन्त्रालयका सचिव लगायत उच्च अधिकारी र सिंचाई विभागका महानिर्देशकलाई बुझाउन ल्याइएको घुस बरामद भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजन इन्जिनियर प्रकाश अधिकारी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सिन्धुपाल्चोकका इन्जिनियर भोगेन्द्र साह र सवारीचालक सुमन खड्कालाई पक्राउ उच्च अधिकारीलाई बुझाउन ल्याएको घुससहित पक्राउ गरेको हो ।


विभिन्न उपभोक्ता समिति तथा अन्य कम्पनीहरूसँग घुस रकम लिई बा.१झ ५२८० नम्बरको सरकारी गाडीमा काठमाडौं आउँदै गर्दा उनीहरू भक्तपुरको जगातीमा पक्राउ परेका हुन् ।
सिनियर डिभिजन इन्जिनियर प्रकाश अधिकारीको साथबाट १३ लाख ३८ हजार पाँच सय तथा इन्जिनियर भोगेन्द्र साहको साथबाट एक लाख २९ हजार एक सय पाँच रुपैयाँ फेला परेको आयोगले जनाएको छ । उनीहरूको गाडीसमेत आयोगले नियन्त्रणमा लिएको छ  ।
प्रारम्भिक अनुसन्धानमा सिँचाइ विभागका डिजी र सिँचाइ मन्त्रालयका सचिवलाई बुझाउन भनेर सो पैसा गाडीमा राखेर ल्याएको उनले बताएका थिए । ‘आर्थिक वर्ष सकिएपछि विभागमा प्रगति समीक्षा हुँदोरहेछ,’ आयोगका एक अधिकारीले भने, ‘कार्यालय प्रमुखहरूले प्रगति विवरणसहित पैसा पनि बुझाउँदा रहेछन् ।’

सिँचाइ विकास डिभिजन कार्यालयअन्तर्गत गत वर्ष दोलखामा २५ करोड लागतको काम भएको थियो । आर्थिक वर्षमा बिल भुक्तानी हुने भएकाले पैसा उठाएर विभाग र मन्त्रालयका अधिकारीलाई भेट्न उनी काठमाडौं आउँदै थिए ।

सिन्धुपाल्चोकका इन्जिनियर साह पनि सोही गाडीमा रहेको आयोगलाई सुरुमा थाहा थिएन । आफूसँग भएको रकमको स्रोत खुलाउन नसकेपछि उनलाई पनि आयोगले पक्राउ र्गयो । साहले त्यो रकम आफूलाई साथीले दिएको बताएका थिए । तर, कुन साथीले भनेर खुलाउन सकेका छैनन् । यसरी आयोगले पहिलोपटक हाकिमलाई घुस बुझाउन लैजाँदै गर्दा पक्राउ गरेको हो । उनीहरूको बयानको आधारमा माथिल्ला तहका हाकिमहरू तानिने आयोगका ती अधिकारीले बताए ।
शुक्रबार पक्राउ परेका दुई सिनियर डिभिजन इन्जिनियर प्रगति समिक्षा बैठकमा विभागका महानिर्देशक र मन्त्रालयका अधिकारीलाई बुझाउन पैसा बोकेर काठमाडौं आएका थिए ।
विकास निर्माणसम्बन्धि सबै कार्यालयमा यसरी संगठित रुपमा भ्रष्टाचार हुने गरेको छ । कतिपय सरुवामै पैसा बुझाएर जाने गर्दछन् भने कतिपयले आर्थिक वर्षको अन्तिममा बुझाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्