
काठमाडौं । पुरानै राेग ब्याटिङ नसुधारेपछि नेपाल आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजमा नामिबियासँग पराजित भएको छ ।
स्कटल्याण्डको एयरस्थित कम्बसदुन न्यू ग्राउन्डमा नेपाल ४० रनले पराजित भएकाे हाे । गएराति सम्पन्न खेलमा रनको पछ्याएको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाएर १ सय ८० रन मात्र बनाउन सक्यो ।
नेपालका आरिफ शेखले अर्धशतक बनाए पनि जित दिलाउन सकेनन् । ८४ बलमा नटआउट रहेका उनले दुई चौकाको सहयोगमा ५० रन जोडे ।
कुशल भुर्तेल २७, आसिफ शेख १४, देव खनालले ३४, दीपेन्द्रसिंह ऐरी ४, सोमपाल कामी, आदिल अन्सारी १०/१०, करण केसी १९ र बासिर अहमद तीन रनमा आउट भए ।
टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले ४७.३ ओभरमा सबै विकेट गुमाएर २२० रन बनायो । नेपालका लागि सन्दीप लामिछानेले ४, सोमपाल कामील२, करण केसी, दीपेन्द्रसिंह ऐरी र बसिर अहमदले १/१ विकेट लिए ।
यो जितसँगै नामिबिया विश्वकप लिग–२ को अंक तालिकामा पाँचौँ स्थानमा उक्लिएको छ ।











