Logo
Logo

…अनि कार्यालय सहयोगी वडाध्यक्ष बने


1.6k
Shares

बाजुरा । बुढीगंगा नगरपालिका १ बाजुराका रणबहादुर थापा संघीयता कार्यान्वयनमा आउनुअघिसम्म साविक बह्रमतोला गाविसमा सामाजिक कार्यकर्ता भएर काम गर्थे ।

संघीयतासँगै उनको जागिर गयो। २०७५ सालमा आफ्नै वडामा कार्यालय सहयोगिको नियुक्ति पाए। वडामा जनप्रतिनिधिले गर्ने कामका विषयमा नजिकबाट नियाल्ने यसै समय उनलाई मौका मिल्यो । आफ्नै वडामा जनप्रतिनिधि बन्ने र नागरिकको सेवा गर्ने इच्छा पलायो ।

‘जहाँ इच्छा, त्यहाँ उपाय’ भनेझै वडाध्यक्षको उम्मेदवार बने र विजयी पनि भएका छन्। अहिले आफ्नो कार्यालय सहयोगीदेखि वडाध्यक्ष सम्मको यात्रा सम्झँदै भन्छन्, ‘नागरिकको पीर मर्का बुझेको थिएँ । अब काम गर्ने अवसर पाएँ । नागरिकको मन जित्ने काम गर्छु ।’ बुढीगंगा नगरपालिकामा असार २३ मा सकिएको स्थानीय निर्वाचनमा उनी निर्वाचित भएका हुन् ।

थापा कार्यालय सहयोगी हुँदाको योगदान र नागरिकलाई गरेको व्यवहारले उनलाई वडाध्यक्षको कुर्सीसम्म पु¥याएको हो । उनले नेपाली कांग्रेसका लोगबहादुर थापालाई पराजित गरेका हुन् । विजयी रणबहादुर ४ सय १६ र पराजित लोगबहादुर थापाले ३ सय ५८ मत ल्याएका थिए ।

२०७५ सालदेखि १ नम्बर वडामा कार्यालय सहयोगीका रूपमा काम गर्दै आएका थापाले वडाध्यक्ष पदमा उठ्न चैत महिनामा राजीनामा दिएका थिए । मासिक १४ हजार पारिश्रमिक पाउने कार्यालय सहयोगी पद त्याग्दै उनले नेकपा एमालेसँग आफू वडाध्यक्ष लड्ने प्रस्ताव राखेका थिए ।

एमालेले अध्यक्षको उम्मेदवार बनाउन सहमति जनाएपछि चैत महिनामा राजीनामा दिएर चुनावमा होमिएको उनी बताउँछन् । ‘जित्छु भन्ने लागेर नै चुनावमा होमिन राजीनामा दिएको हुँ । ठूलो पद त होइन कार्यालय सहयोगी । तर, नागरिकको सेवा अध्यक्ष भएपछि अझै गर्न सकिन्छ भन्ने लागेर उम्मेदवारी दिएको थिए। मतदाताको साथ पनि पाएँ,’ उनले भने ।

थापा कार्यालय सहयोगीमा नियुक्ति हुँदा नेपाली कांग्रेसका वडाध्यक्षमा राजेशकुमार सिंहसहितको कांग्रेसको प्यानल नै विजयी भएको थियो। अहिले उनले एमालेबाट जिते । निर्वाचित थापा कार्यालय सहयोगी भए पनि उनले वडामा हुने सबै काम गरेको बताउँछन् ।

भन्छन्, ‘मैले जनताका दुःख, पिरमर्का समस्या राम्रोसँगै बुझेको छु । अब मलाई काम गर्न समस्या छैन ।’ अन्रपूर्ण पाेस्टबाट

प्रतिक्रिया दिनुहोस्