
काठमाडौं । भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले अलपत्र अवस्थामा रहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्न संघीय सरकारसँग माग गरेकी छन् ।
सोही क्रममा मंगलबार बिहान उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेकी छन् । भेटमा मेयर दाहालले रंगशाला निर्माणमा आवश्यक सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह गरिन् ।
आर्थिक अभाव र विवादका कारण ‘धुर्मुस–सुन्तली फाउण्डेसन’ले रंगशाला निर्माणबाट हात झिकेपछि अलपत्र परेको हो । प्रधानमन्त्रीसँगको भेटमा मेयर दाहालले चितवनको समग्र विकाससँग सम्बन्धित विषयमा छलफल गरेकी थिइन् ।
उनले भरतपुर विमानस्थल विस्तार, माडी क्षेत्रको भूमिगत विद्युतीकरण, माडी जंगल क्षेत्रको हुलाकी सडकको स्तरोन्नतिलगायतका विषयमा प्रधानमन्त्री देउवालाई जानकारी गराएको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री देउवाले ती कामहरू अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको मेयर दाहालको सचिवालयले जनाएको छ ।
भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, मुख्यसचिव शंकरदास वैरागी, प्रधानसेनापति प्रभुराम शर्मालगायत थिए ।














