Logo
Logo

नेवानिमा कुटाकुटको स्थिति उत्पन्न


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले यतिसम्म आर्थिक बेथिति गराएका छन् भन्ने कुरा त्यहाँको आधिकारिक युनियनले दिएको ज्ञापनपत्रले स्पष्ट पारेको छ । निगमको आधिकारिक युनियनले जहाजको किस्ता तिर्न नसकेको सहितका विभिन्न मागहरु राखेर गत महिना कार्यकारी अध्यक्ष खरेललाई अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका थिए । त्यसपछि खरेलले युनियनसँग वार्ता गर्न डिएमडी गणेश चन्दको नेतृत्वमा इञ्जिनीयरिङ, अपरेशन, अर्थ, एचआरलगायतका निर्देशकहरु राखी वार्ता समिति गठन गरी वार्ता प्रक्रिया अगाडि बढाएको थियो ।

युनियनसँगको चौथो बैठकको क्रममा युनियन अध्यक्ष सुवास डाँगीले जहाजका सेयर पार्टसको पैसा समयमा नतिरेको कारण सबैजसो आन्तरिक उडानमा रहेका जहाजहरु ग्राउण्डेड रहेको भन्दै आक्रोशित भए । प्रत्युत्तरमा अर्थ विभाग प्रमुख युवराज अधिकारीले इञ्जिनीयरिङबाट फेकबिलहरु आएकोले एयरबस, एभिक, एयुट्रेड, कोलोअसलगायतका कम्पनीबाट खरिद गरिएका स्पेयर पार्टसको भुक्तानी नगरेको बताए । त्यसपश्चात् मेन्टिनेन्स विभागबाट कुनै पनि फेक बिलहरु हुन नसक्ने भन्दै उपप्रमुख पोषक ज्ञवालीले प्रतिवाद गरे । तर इन्जिनियरिङ विभाग प्रमुख राजेशप्रसाद श्रेष्ठले कुनै प्रतिवाद नगरी मुन्टो हल्लाउँदै फेक बिलको कुरामा सहमति जनाएपछि बैठक तनावपूर्ण अवस्थामा पुग्यो । त्यसपछि युनियनले तत्काल बैठक रोकी यस विषयमा स्पष्टीकरण माग गर्न कार्यकारी अध्यक्ष खरेलको कार्यकक्षमा जबर्जस्ती प्रवेश गरे । छलफलपश्चात अर्को दिन आधिकारिक युनियनका अध्यक्षले हस्ताक्षर गरी इन्जिनियरिङ विभाग प्रमुख राजेश श्रेष्ठ, मेन्टिनेन्स विभाग प्रमुख कर्णबहादुर थापा र अर्थ विभाग प्रमुख युवराज अधिकारीलाई तत्काल निलम्वन गरी फेक बिल प्रकरण छानविन गर्न कडा विज्ञप्ति पेश गरी दबाब दिएका छन् ।

यसरी हालको व्यवस्थापनले स्पेयर पार्टस खरिद, सी चेक, एपीयु खरिद आदिमा फेक बिलमार्फत् करोडौको भुक्तानी दिएको र यस कार्यलाई कार्यकारी अध्यक्ष खरेलले संरक्षण गरी इन्जिनियरिङ निर्देशक राजेश श्रेष्ठले छानबिन समिति बनाउन आनाकानी गरिरहेको बताइन्छ । पर्यटन सचिव मोहनकृष्ण सापकोटाले समेत यस विषयमा चासो राखेको र निगम बोर्डले पनि यो विषयलाई छलफलमा ल्याएको हुँदा खरेल अप्ठ्यारोमा परेका छन् । नायव महाप्रबन्धक गणेश चन्द, अनिश सिग्देल, अमृत श्रेष्ठ, उमेश पौडेल छानविन समिति बनेको छ ।

इन्जिनियरिङको अनियमितता

निगममा रहेका जहाजहरु मर्मतसम्भार गर्ने इन्जिनियरहरुलाई मर्मतसम्भार कार्य गरेवापत लाइसेन्स भत्ता दिने व्यवस्था निगमको कर्मचारी विनियमावलीमा रहेको छ । तर हाल जहाजमा मर्मतसम्भार कार्य नगर्ने÷नगरेका इन्जिनियरहरुलाई समेत मोटो रकम भत्ता दिइएको हुँदा करोडौँ रुपैयाँको आर्थिक अनियमितता भएको छ । हाल इन्जिनियर विक्रम केसी क्वालिटी एस्सुरेन्स विभागको निर्देशक रहेका छन् । उनले विगत दुई वर्षदेखि जहाजका कुनै पनि मर्मतसम्भार भत्तावापत चार लाख बुझ्दै आएका छन् । यसैगरी विभाग एक वर्षदेखि इन्जिनियरिङ निर्देशक राजेशप्रसाद श्रेष्ठले जहाजको कुनै पनि मर्मतसम्भार कार्यमा संलग्न रहेका छैनन्, तर जहाजको मर्मतसम्भार भत्तावापत्र मासिक ४ लाख बुझिरहेका छन् ।

निगमको जहाजका पार्टपुर्जाहरु मर्मतसम्भार गर्ने वर्कसपमा कार्यरत करीब ८ जना टेक्निसियनहरुलाई पनि कर्मचारी नियमावलीको प्रावधानविपरीत सीएएएनबाट बेसिक लाइसेन्स समेत नलिएका अयोग्य व्यक्तिहरु रंजिता बराल, प्रकाश खोटेजा, राजुनाथ नकर्मी आदिलाई भत्तावापत मासिक करिब २० लाख भुक्तानी दिई जहाज मर्मतसम्भार निर्देशक कर्णबहादुर थापाले ठूलो भ्रष्टाचार गरिरहेका छन् । यो अनियमितता सम्बन्धमा आधिकारिक ट्रेड युनियनले कार्यकारी अध्यक्षको ध्यानाकर्षण गराउँदा समेत खरेलले बेवास्ता गरी यो भ्रष्टाचार प्रकरणलाई ढाकछोप गरेका छन् ।

ठेकेदार कम्पनीमार्फत कर्मचारी नियुक्ति

निगममा हाल करिब ४ सय जनाजति प्राविधिक र प्रशासनका कर्मचारीहरु करार र ज्यालादारीमा कार्यरत रहेकोमा कार्यकारी अध्यक्षले उनीहरुलाई ठेकेदारमार्फत पुनः नियुक्त गरी ठूलो कमिशन लिने प्रक्रिया अगाडि बढाएका छन् । ठूलो संख्यामा कर्मचारीहरु ठेकेदारबाट लिनकै लागि पर्यटन मन्त्रालयको कर्मचारी व्यवस्थापन गर्नेसम्बन्धी पत्रको हवला दिँदै नायब महाप्रबन्धकको संयोजकत्वमा निर्देशकहरु रहेको समिति गठन गरी प्रतिवेदन पेश गर्न लगाएका थिए । नायब महाप्रबन्धकसहित निर्देशकहरु यसरी कर्मचारीहरु ठेकेदारबाट लिन सहमति नभएपछि खरेलको निर्देशनलाई अटेर गर्दै सो कर्मचारीलाई ज्यालादार÷करारमा नै राख्नुपर्ने रायसहितको प्रतिवेदन दिएपछि उनी नायब महाप्रबन्धकसँग रुष्ट भएका छन् । तर जसरी पनि आफ्नो मोटो कमिशन लिने योजना सफल पार्न उक्त प्रतिवेदनलाई लुकाई कर्मचारीहरु ठेकेदारबाट नै लिने प्रस्ताव निगमको सञ्चालक समितिमा पेश गरेका छन् । हाल करारमा रहेका कर्मचारी जहाजका क्याप्टेन, इन्जिनियर, एयरहोस्टेज, कार्यकारी अध्यक्षका एडभाइजर राजु केसीलगायत कर्मचारीहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्