काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले पार्टीको पुनर्गठन अनिवार्य आवश्यकता भएको बताएका छन् ।

मंगलबार जडीबुटीमा आयोजित पार्टीको बैठकमा बोल्दै डा. भट्टराईले जसपाको वैधानिक बहुमत आफूहरुसँग रहे वा नरहे पनि पार्टीको पुनर्गठन अनिवार्य आवश्यकता भएको बताए ।
बैठकले निकालेका निष्कर्षको आधारमा पुनर्गठित पार्टीको घोषणापत्र, विधान, नियमावली र आचारसंहिता निर्माण गर्ने डा. भट्टराईले बताए । डा. भट्टराईले विभिन्न राजनीतिक समूह, आन्दोलनकारी धारा, वैचारिक भावधारा र व्यक्तिव्यक्तित्व मिलेर हामीले जसपा निर्माण गरेको स्मरण गरे ।
डा. भट्टराईले प्रतिवेदनमा भनेका छन्, ‘पार्टीको कानुनी वैधता निरुपण गर्ने आफ्नै प्रक्रिया छ । त्यो काम निर्वाचन आयोग गर्दै गर्ला । पार्टीको आधिकारिक वैधता हामीसँग रहेको वा नरहेको– दुवै अवस्थामा वैचारिक, सैद्धान्तिक, राजनीतिक वैधता भने हामीसँग हुनेछ ।’
छलफलका लागि डा. भट्टराईले दुई विकल्प पनि प्रस्ताव गरेका छन् । पहिलो विकल्पमा नयाँ ढंगले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई अघि बढाउने र दोस्रो विकल्पमा विचार, नीति, कार्यक्रम मिल्ने निकटतम् शक्तिहरुसँग सहकार्य, ध्रुबीकरण, एकीकरण गर्दै जाने उल्लेख छ ।














