काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्यको प्रतिमामा माल्यार्पण गरेका छन् ।
२०९औँ जन्मजयन्तीको अवसरमा बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी पुगेर प्रधानमन्त्री देउवाले भानुभक्तको प्रतिमामा माल्यार्पण गरेका हुन् । माल्यार्पण गर्न पुगेका देउवाले भानुभक्तले लगाउने टोपी लगाएका थिए ।

आदिकवि भानुभक्त आचार्यको सम्झनामा प्रभावफेरिको आयोजना समेत गरिएको थियो । प्रभावफेरि सहभागी विद्यार्थीहरुले भानुभक्तको पहिरन पहिरिएका थिए ।
आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।











