
काठमाडाैं । खानेपानी मन्त्री उमाकान्त चौधरीले सन् २०३० सम्म खानेपानीको दिगो विकास लक्ष्य पूरा गर्नुपर्नेमा जोड दिएका छन् ।
खानेपानी मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मन्त्री चौधरीले सन् २०३० सम्म ९० प्रतिशत नागरिकमा स्वच्छ खानेपानीको पहुँच पुर्याउने गरी तीनै तहका सरकारले समन्वयात्मक रूपमा काम गर्नुपर्ने बताए ।
कुनै योजनामा २० वर्षदेखि पाँच लाख रुपैयाँको बजेट जाँदा पनि पूरा नभएका उदाहरण भेटिएकाले समन्वय अति आवश्यक भएकामा खानेपानी मन्त्रालयले जोड दिएको थियो । तीनै तहका सरकारको संयुक्त लगानी कोष बनाएर काम गर्नुपर्नेमा मन्त्री चौधरीको जोड थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाका प्रशासनिक सल्लाहकार जनार्दन नेपालले खानेपानीको स्रोत नभएका स्थानमा लिफ्ट आयोजना सञ्चालन गर्न सुझाव दिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खानेपानीका बारेमा तीनै तहका सरकारले गरेका कामको समन्वय गर्न सहयोग गर्ने उनको प्रतिबद्धता छ ।











