काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसँग बुधबार (आज)देखि मन्त्रालयले बयान लिन सुरु गरेको छ ।
मन्त्रिपरषदको बैठकले उनलाई २०७९ असार ९ गते निलम्बन गरेर अधिकारीले गरेका भ्रष्टाचार र अनियमिततामाथि छानविन गर्न पर्यटन सचिव महेश्वर न्यौपानेको संयोजत्वमा तीन सदस्यीय छनविन समिति गठन गरेका थियो ।

कार्यकारी अध्यक्ष अधिकारीले कानुनी आधार र औचित्व विना ट्वीनेटर विमान भाडामा दिएको, निगमको जहाज साउदी अरब सञ्चालन गर्ने प्रायोजनका लागि भ्रमण कार्यमा विना निर्णय जम्बो टोली सहभागी गराई निगमलाई ठूलो वित्तिय नोक्सानी पुर्याएको, सार्वजनिक प्रतिस्पर्धा नगराई एउटा संस्थालाई मात्र सहभागी गराई सिधै टिकट बिक्री गर्ने कार्य गरेको र यस कार्यमा कार्यकारी अध्यक्ष आफैं संलग्न भई व्यक्तिगत फाइदा लिएको देखिएको, निगमका पदाधिकारीहरु र कर्मचारीहरुलाई अनुशासनमा राख्न नसकेको सञ्चालक समितिको बैठकमा सबै पदाधिकारीलाई समेटेर बैठक राख्न नसकेको, निगमको प्रभावकारिताको लागि रणनीतिक योजना बनाई कार्यान्वयन गर्न नसकेको, निगमको व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन नसकेको, पद अनुसारको आचरण प्रदर्शन गर्न नसकेको, पदीय कर्तव्य पूरा गर्न नसकेको भनेर छानविन समिति गठन गरेको थियो ।
तर, सर्वोच्च अदालतका न्यायाधीश तिलकप्रसाद श्रेष्ठको आदेशले छानविन स्थगित भएको थियो ।
असार २८ गते कामु प्रधानन्यायाधीश दिपककुमार कार्की र प्रकाश ढुंगानाको संयुक्त इजलासले पर्यटन मन्त्रालयसँग अधिकारीमाथि लगाइएको आरोप र त्यसको छानविनको कागजात झिकाउने आदेश दिएपछि अधिकारीमाथि छानविन समितिले बयान सुरु गरेको हो । यस विषयमा शुक्रबारदेखि बहस हुने भएको छ ।














