काठमाडौं, ७ साउन ।
स्कुल विभागको नेतृत्वको विषयालाई लिएर विवाद भइरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता घनश्याम भुषालले समेत त्यसमा दाबी गरेका छन् । सिनियर नेताहरु ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठबीच विभागको नेतृत्वमा तानातान भइरहेका बेला भुषालले समेत दाबी गरेका हुन् ।

सो पद आफ्नो लागि उपयुक्त भएको भन्दै उनले लबिङ सुरु गरेका छन् ।
‘स्कुल विभाग कसरी चलाउँदा राम्रो हुन्छ भन्नेबारे दाबी गर्ने साथीहरु सबैले आ–आफ्नो प्रस्ताव राखौं। वैचारिक रुपमा पार्टीलाई सक्षम बनाउने योजना ल्याउँ,’ भुसालले भने, ‘पहिले स्कुल विभाग भनेको के हो ? त्यसलाई कसरी सञ्चालन गर्ने स्पष्ट नभइ व्यक्तिको नाममा हानाथाप गर्नु राम्रो होइन।’
भुसाल एमालेका पूर्व उप महासचिव हुन्। एमालेको नवौं महाधिवेशनमा भुसालले अघि सारेको विचारलाई पारित गरेको थियो। आठौं महाविधेशनमा पूरक प्रस्तावका रुपमा उनले प्रस्ताव अघि सारेका थिए। उनले गरेको व्याख्याकै आधारमा पार्टीले नेपाली समाजका चरित्र परिवर्तन भएको नीति पारित गरेको थियो।
एमालेको नवौं महाधिवेशन पछि भुसालले स्कुल विभागको प्रमुख हुनुपर्ने दाबी गरेका थिए।
‘मेरो पहिलेदेखिकै दाबी हो। पार्टीको महाधिवेशनपछि पनि मलाई नदिन स्कुल विभाग अध्यक्ष स्वयंले राख्नुभयो। यदि पार्टीले न्याय गर्ने हो भने स्कुल विभाग मलाई दिनुपर्छ’, उनले भने। त्यतिबेला एमालेका अर्का स्थायी कमिटी सदस्य शंकर पोखरेलले पनि सो विभाग आफूले पाउनु पर्ने दाबी गरेका थिए।











