Logo
Logo

अजित डोभलको प्रस्तावमा नेपालको आपत्ति


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ साउन ।
भारतको दबाब नमानेपछि भारत र नेपालबीच अर्काे एउटा विषयमा पनि विवाद बढेको छ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को सुरक्षा प्रतिवेदनमा नेपालले आपत्ति जनाएको छ । प्रतिवेदन नेपालको परराष्ट्र नीतिविपरीत भएको भन्दै नेपालले हस्ताक्षर गर्न अस्विकार गरेको छ । आफ्नो देशमा भएका विस्फोटका घटनामा भारतले पाकिस्तानमाथि आरोप लगाएका कुरा प्रतिवेदनमा उल्लेख भएपछि नेपालले त्यसलाई नसच्याई हस्ताक्षर नगर्ने अडान लिएको हो । गृहमन्त्री थापाका अनुसार प्रतिवेदन सच्याएर वा आफ्नो असहमति राखेर मात्र त्यसमा नेपालले हस्ताक्षर गर्नेछ ।

गत २१ मार्चमा थाइल्यान्डमा सम्पन्न राष्ट्रिय सुरक्षा प्रमुखको तेस्रो बैठकमा भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभलले आफ्नो देशमा भएका विस्फोटका घटनामा पाकिस्तानको संलग्नता रहेको आरोप लगाएका थिए । प्रतिवेदनमा सो विषय उल्लेख भएपछि नेपालले त्यसलाई सच्याउन आग्रह गरेको थियो । त्यससम्बन्धी विवादबारे पत्रकार सम्मेलनमा प्रश्न सोधेपछि गृहमन्त्री थापाले भने, ‘भारतमा जुन विस्फोटका घटना भए, ती सन्दर्भमा भारतको सुरक्षाविद्ले बिमस्टेकको सुरक्षा बैठकमा कुनै छिमेकी मुलुकको आधार बनाएर भएको हो भन्ने कुरा राखे, बिमस्टेकको प्रतिवेदन तयार गर्दा त्यो कुरा आयो, हाम्रो आपत्ति छ । त्यो कुरासँग हामी सहमत छैनौँ ।’
प्रतिवेदनमा त्यो विषय हटाएर वा आफ्नो असहमति राखेर मात्र प्रतिवेदनमा हस्ताक्षर गरिने उनले बताए । सुरक्षा बैठकमा गएका नेपाली अधिकारीले डोभलको भनाइमा समर्थन गरेको हो भन्ने प्रश्नमा मन्त्री थापाले सो जवाफ दिएका थिए । बिमस्टेक बैठकमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको नेतृत्वमा टिम गएको थियो । खनालमाथि परराष्ट्र नीतिअनुसार त्यहाँ प्रस्तुती दिन नसकेको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्