Logo
Logo

के तपाइँले अरिङ्गालको परिकार चाख्नुभएको छ ?



म्याग्दी । अरिङ्गालको परिकार चाख्नुभएको छ ? यदि छैन भने म्याग्दी आउनुहोस् । यहाँ तपाईँ अरिङ्गालको परिकार खान पाउनुहुन्छ । सदरमुकाम बेनीस्थित एउटा रेष्टुरेन्टले अरिङ्गालको परिकार बनाउने गरेको छ । परिकार खान चार दिन अघि नै अर्डर गर्नुपर्छ ।

एक प्लेट फ्राइ अरिङ्गालको लार्भालाई ५०० रुपैयाँ तिर्नुपर्छ । जङ्गल तथा ग्रामीण भेगमा सर्वसाधारण अरिङ्गालको गोला खोज्न जुट्छन् । मुख्यतथा असारदेखि असोजसम्म यस्तो क्रम बढी चल्छ ।

अरिङ्गालको गोला काटेर त्यसबाट लार्भा (किरा) निकालिन्छ । बेनीको वीरेन्द्रचोकस्थित होटल रोजिनाकी सञ्चालिका सिर्जना भट्टचनले अरिङ्गालको परिकार बनाएर बिक्री गर्दै आएका छन् । सिर्जनालाई ग्राहकले ‘अरिङ्गालवाली’को नामले चिन्ने गरेका छन् । यसरी व्यापार गर्न थालेको पाँच वर्ष भएको भट्टचन बताउँछन् ।

‘ग्राहकको रोजाइमा अरिङ्गालको परिकार बढी पर्छ’ उनले भने । भट्टचनको अरिङ्गाल व्यापार बेनीमा मात्रै सीमित छैन । काठमाडौँ, पोखरालगायत ठाउँबाट समेत माग आउन थालेको छ ।

‘परिकार बनाई प्याकिङ गरेर पठाउने गरेकी छु’, उनले भने । फ्राइ अरिङ्गाल प्रतिप्लेटको रु ५०० पर्छ । यही परिकारबाट हरके याममा रु चार लाखदेखि रु ६ लाखसम्म कमाइ हुने गरेको उनी बताउछन् ।

अरिङ्गालको लार्भा एक माना रु एक हजार ६०० देखि रु दुई हजारसम्ममा उनले खरिद गर्छन् । यसरी खरिद गरेको अरिङ्गाल भुटेर भट्टचनले बिक्री गर्दै आएका छन् ।

‘हाल दैनिक १० देखि १५ प्लेटसम्म बिक्री गर्न सकिएको छ, साउनदेखि असोज अन्तिमसम्म दैनिक ५० प्लेटसम्म बिक्री हुन्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्