काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले वामपन्थी तालेमलका लागि आग्रह गरेका छन् । शनिबार काठमाडौंमा आयोजित ‘नेपालको भूराजनीतिक अवस्था : चुनौती र अबको बाटो’ विषय विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेता श्रेष्ठले त्यसका लागि तुम शेर तो, हम सवाशेर छाडेर आत्मसमीक्षा गर्न नेताहरुलाई आग्रह गरे । देशभक्तिपूर्ण आन्दोलनको अगुवा शक्ति वामपन्थीहरु भएको उनले बताए ।
तर अहिले वामपन्थीहरुले एकअर्कालाई सिध्याउने, तल पार्ने मेसो चलाउँदा सबै सिद्धिने दिशातिर गइरहेको र यसले देशको अस्थित्व संकटमा पर्नसक्ने नेता श्रेष्ठले बताए ।
त्यस्तै, मञ्चमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम लिँदै श्रेष्ठले भने, ‘सबैसँग विनम्रतातापूर्वक आग्रह गर्न चाहन्छु, तुम शेर तो, हम सवा शेर छोडिदिऊँ ।’
‘घटनाक्रमको विषयवस्तुमा गम्भीर आत्मसमीक्षा गरौं । कतिपय भोलि गरे हुने भए पछाडि गरौंला’, उनले भने, ‘अहिले गर्नुपर्ने छ, गल्ती कमजोरी भएको छ भन्ने लाग्छ भने आत्मालोचना गरौं । म त आत्मालोचना गर्छु, पार्टी एकता जोगाउन सकिएन, मेरो पनि भूमिका थियो ।’











