काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष डोजाङ शेर्पाले गभर्नर महाप्रसाद अधिकारी अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।
आइतबार बालुवाटारस्थित नेपाल राष्ट्र बैंक अगाडि गभर्नर अधिकारी विरुद्धको प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै शेर्पाले गभर्नर अधिकारीले तत्काल राजीनामा नदिए उनका जुनसुकै कार्यक्रमहरु बिथोल्ने चेतावनी दिए ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले अधिकारीलाई तुरुन्त बर्खास्त गर्नुपर्ने बताउँदै भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले उहाँको बर्खास्त गर्नुहुनेछ । यदि गभर्नर अधिकारीले राजीनामा नदिए उनको जुनसुकै कार्यक्रम बिथोल्न संयुक्त विद्यार्थी संगठनहरुले अभियान चाल्ने छ ।’
यस्तै कार्यक्रममा अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले २४ घण्टाभित्र अधिकारीको राजीनामा नआए उनको विरुद्ध सडकमा आगो बाल्ने चेतावनी दिइन् । उनले गभर्नर अधिकारी संलग्न हरेक सार्वजनिक कार्यक्रमहरु बहिष्कार गर्ने चेतावनी दिइन् ।
गभर्नर अधिकारीविरुद्ध प्रदर्शनका क्रममा प्रहरीले विद्यार्थीमाथि हस्तक्षेप गर्दै धरपकड गरेको थियो । नेकपा एमालेको अर्थ विभागमा रहेको भन्दै गभर्नर अधिकारीको विरोध हुँदै आएको छ ।











