Logo
Logo

मेडिसिटी अस्पतालले ज्यान लियो



काठमाडौं । अर्बपति उपेन्द्र महतोको समूहद्वारा सञ्चालित नेपाल मेडिसिटी अस्पतालले उपचारमा एकपछि अर्काे लापरबाही गर्न थालेपछि नेपाल मेडिकल काउन्सिलले छानबिन थालेको छ । अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको लापरबाहीका कारण हालै एक विरामीले ज्यान गुमाउनु परेको छ ।अस्पतालले चिकित्सकलाई निलम्बन गरेर घटनालाई ढाकछोप गराउने प्रयास गरिरहेको छ ।

मेडिसिटीको लापरबाहीका कारण पोखराका योगेन्द्र बस्नेतले ज्यान गुमाएका हुन् । उनी जेठ १७ गते उपचारका लागि नेपाल मेडिसिटी अस्पताल पुगेका थिए । सामान्य स्वास्थ्य जाँच गर्न मेडिसिटी अस्पताल पुगेका बस्नेतको चिकित्सकले पित्त थैलीको अपरेशन गर्नुपर्ने बताएपछि २२ गते ल्याप्रोस्कोपी विधिद्वारा शल्यक्रिया गरिएको थियो । तर उनले २५ जेठमा चिकित्सकको लापरबाहीले ज्यान गुमाएका छन् ।

योगेन्द्रका छोरा समिरबहादुर बस्नेतका अनुसार स्वास्थ्य जाँचको क्रममा डा. सुनिल शर्माले पित्त थैलीको शल्यक्रिया गर्नुपर्ने सल्लाह दिएका थिए । लगत्तै शर्माको सल्लाह अनुसार नै शल्यक्रिया भएको थियो । अपरेशन सामान्य भएको थियो ।

अप्रेसनपछि सामान्य शैयामा सारिएको थियो । तर, २४ गते बेलुका बिरामीले अपरेशन गरेको भागमा दुखेको भन्दै नर्सलाई खबर गरेका थिए । नर्सले जाँच गर्दा रक्तचाप सामान्य देखिएको बताएका थिए । रक्तचाप सामान्य देखिएपछि ट्वाइलेट गएका विरामी योगेन्द्र त्यही ढलेका थिए । ढलेपछि पिता योगेन्द्रको मुख बांगिएको छोरा समिरले बताए ।

बिरामी ढलेपछि आएको चिकित्सकको टोली स्वास्थ्य जाँच गर्दा सामान्य अवस्था भएको भन्दै बाहिरिएको थियो । पीडित परिवारका अनुसार बेलुका ८ बजे वेड सार्न खोज्दा फेरि बिरामी ढलेका थिए । सोही रातको ३ बजे बिरामी अचेत भएको र मेडिकल अफिसर आएर कृत्रिम श्वास दिएर आइसीयूमा लगिएको थियो । आइसीयूमा लैजानु पर्ने अवस्था आएपछि मात्रै अस्पतालाका चिकित्सकले भिडियो एक्सरे गरी अप्रेसन गरेकै ठाउँमा आन्तरिक रक्तश्राव भएको भन्दै पुनः अपरेशन गर्नुपर्ने बताएका थिए ।

यसरी अपरेशनपछि पनि रक्तश्राव नरोकिएको र ‘मल्टि अर्गान फेल’ भएकाले बिरामीलाई भेन्टिलेटरमा राखियो । भेन्टिलेटरमै राखिएको अवस्थामा बिरामीको जेठ २५ गते मृत्यु भएको थियो । मृत्यु हुनुको मुख्य कारण चिकित्सकको गम्भीर लापरबाही भएको भन्दै पीडित पक्षले सत्यतथ्य छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न अस्पतालमा निवेदन दिए । पीडित परिवारले अस्पताल प्रशासन समक्ष ६ असारमा छानबिन गरिपाउँ भन्दै निवेदन दिएको थियो ।

अस्पतालले पीडितको माग अनुसार डा. जयन्द्र बज्राचार्यको नेतृत्वमा छानबिन समिति बनायो । उपचारमा नजाने चिकित्सक राजीव मिश्रसहित अन्य दुई जनालाई निलम्बन गरिएको अस्पतालले जनाएको छ । अस्पताल प्रशासनले उपचारमा लापरवाही गर्ने चिकित्सकलाई कारबाही गरी कानूनी दायरामा ल्याउनुपर्नेमा निलम्बन गरेर बचाउन खोजिरहेको छ ।

अस्पतालले पीडितलाई दिएको जानकारी पत्रमा पनि कमजोरी स्वीकार गरेको भेटिएको छ । मृतक योगेन्द्रका छोरा समिर बस्नेतलाई अस्पतालले दिएको जानकारी पत्रले कमजोरी मात्रै स्वीकार गरेको छैन, चिकित्सकले बिरामी नै हेर्दैनन् भन्ने स्पष्ट खुलाएको छ ।

भेन्टिलेटरमा रहेको बिरामीलाई सोडियम र हेमोग्लोबिन कम हुँदाहुँदै चिकित्सकले गम्भीरतापूर्वक नलिनु र बिरामी अचेत भएपछि मात्रै विशेषज्ञ चिकित्सकको खोजी हुनु जनस्वास्थ्यमाथिको गम्भीर खेलवाड रहेको मेडिकल काउन्सिलका अधिकारी बताउँछन् ।

मेडिकल काउन्सिलमा गत असार २८ गते नै पीडित पक्षले रजिष्ट्रार डा. कृष्ण अधिकारीलाई भेटेरै उजुरी दर्ता गराएको छ । काउन्सिलको छानबिन पनि रोक्न अस्पताल सञ्चालकले चलखेल गरिरहेका छन् । यसअघि पनि मेडिसिटीमा उपचारको क्रममा गम्भीर लापरबाही भएका थिए ।

काठमाडौंको अर्काे ठूलो अस्पताल ग्रान्डीमा पनि यस्तै घटना भएको थियो । घरबाट हिँडेर अस्पताल पुगेका चिकित्सकको लापरबाहीले दुर्गामाया फैजुले ज्यान गुमाउनुपरेको थियो । उनको फोक्सोको ब्रोनकोसकपी गर्ने क्रममा लापरबाही भएको थियो ।

ब्रोनकोसकपी गर्दा हुनसक्ने जोखिमको चिकित्सकले पूर्व तयारी नगर्दा फैँजुको मृत्यु भएको थियो । पछि अस्पतालले गल्ती स्वीकार गरेपनि चिकित्सकमाथि कारबाही भएन । चर्काे शुल्क लिने काठमाडौंका ठूला अस्पतालमा यस्ता घटना बढ्न थालेका छन् । मेडिकल काउन्सिलको निष्क्रियताले पनि यस्ता घटना बढ्न थालेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्