काठमाडौं । नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल एमालेको अर्थ तथा योजना विभागका सदस्य ‘एम अधिकारी’ खोज्नेहरूमाथि खनिएका छन् ।

मंगलबार विराटनगरमा प्रेस चौतारीले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेले राजनीति दलभित्र कतिपय कुराहरु गोप्य हुने र सबै सार्वजनिक गर्न जरुरी भएको बताए । उनले ‘एम अधिकारी’को विषयमा धेरै सोधिखोजी गर्न आवश्यक नभएको टिप्पणी गरे ।
गभर्नर महाप्रसाद अधिकारी एमालेको अर्थ तथा योजना विभागका सदस्य नभएको दाबी गरे । ‘व्यक्तिले आफ्नो के हो भनेर पोजिसन बताएका छन् सम्बन्धित दलले आफ्नो पोजिसन बताएको छ, त्यसमा अरु किन खनजोत धेरै ? यो विषयमा धेरै सोधिखोजी गर्न जरुरी छैन,’ उनले भने, ‘राजनीति दलहरुभित्र कतिपय त्यस्ता कुराहरु हुन्छन्, सबै सार्वजनिक गर्नुपर्छ भन्ने हुन्छ ? हुदैन नि ।’
पोखरेल ‘एम अधिकारी’बारे बहस गर्न आवश्यक नरहेको जिकिर गरे । उनले भने, ‘के हो भन्ने कुरा सम्बन्धित व्यक्तिले भनेका छन्, पार्टीले हो कि होइन भनेर बोलेको छ, सकियो नि त, किन रोइकराइ गर्नु ?’
एमालेले सार्वजनिक गरेको अन्तरपार्टी निर्देशन (अपनि)मा अर्थ तथा योजना विभाग सदस्यमा ‘एम. अधिकारी, खोटाङ’ समावेश भएपछि विभिन्न राजनीतिक दल र विद्यार्थी संगठनले गभर्नर अधिकारी नै भएको भन्दै उनको राजीनामा माग गरिरहेका छन् ।
गभर्नर अधिकारी पार्टीको अर्थ तथा योजना विभागको सदस्य नरहको दाबी गरेको एमालले ‘एम. अधिकारी’ को हुन भनेर देखाउन सकेको छैन ।











