काठमाडौं । नेपाल वायुसेवा निगमका ‘निलम्बित’ कार्यकारी अध्यक्ष युवराज अधिकारी कतिसम्म अक्षम हुन् भन्ने कुरा आज विहान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको एउटा घटनाले पुष्टि गर्छ ।

समाचार स्रोतका अनुसार आज विहान काठमाडौंबाट नयाँ दिल्ली उड्नु पर्ने एयरबस–३२० जहाजको एउटा पाङ्ग्रामा समस्या देखिएको थियो । उक्त पाङ्ग्रा फेर्न आधा घण्टा पनि लाग्दैनथ्यो । तर, जहाज पाँच घण्टा ‘डिले’ भयो । यात्रुहरु निरास हतास भए । निगम व्यवस्थापनले समयमै उक्त पाङ्ग्रा (चक्का) फर्नेतर्फ ध्यान दिएन ।
निगमले स्पेयर पार्टस्का लागि करोडौं रकम व्यवस्था गरेको हुन्छ । तर, निगमको व्यवस्थापन पक्ष भने जहाजको एउटा पाङ्ग्रा बिग्रदासमेत समयमै रिप्लेस गर्न सक्ने अवस्थामा छैन । मंगलबारको घटनाले वायुसेवा निगमको व्यवस्थापन कस्तो छ भन्ने प्रष्ट पार्छ ।
निगम स्रोतका अनुसार हरेक काम गर्दा कमिसन खाने प्रवृत्ति भएकाले समस्या आएको हो । निगमकै एक उच्च कर्मचारी भन्छन्- ‘पाङ्ग्रा फेर्ने कुरा त्यत्रो जटिल होइन । स्पेयर पार्टस्का लागि करोडौं रकम विनियोजन भएको हुन्छ । तर, कमिसन पाइन्छ कि पाइन्न भनेर यस्तो काममा ढिलासुस्ती हुने गरेको छ ।’
केही महिना अगाडि दोहामा एउटा इञ्जिन बिग्रदा जहाज महिनौ थन्किएको थियो । त्यसैगरी, केही महिना अगाडि नै बैंककमा एउटा पाङ्ग्रामा समस्या आएर चार दिन यात्रु बैंककमै अलपत्र परेका थिए ।
निगमको यस्तो व्यवस्थापका कारण निगमको शाख गिर्दैछ भने त्यसबाट निगमले कराडौं क्षति व्यहोर्दै आएको छ ।











