Logo
Logo

धौवादी फलाम खानीको उत्खनन गर्न माग


378
Shares

काठमाडौं । सांसद तिलबहादुर महतले धौवादी फलाम खानी तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने फलाम खानीको उत्खनन प्रक्रिया तत्काल अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सो उद्योग सञ्चालनका लागि सरकारले कम्पनी नै स्थापना गरिसकेको छ । सरकारी अध्ययन अनुसार सो खानीमा १५ करोड मेट्रिक टन बराबरको फलाम छ । उक्त मात्राको फलाम नेपालले मात्रै प्रयोग गरेको खण्डमा ७० वर्षका लागि पुग्छ ।

फलामको गुणस्तरसमेत राम्रो रहेको चीनमा गरिएको अध्ययनबाट स्पष्ट भएको सांसद महतले बताए । उक्त अध्ययनले दैनिक १ हजार ५ सय मेट्रिक टन बराबरको फलाम निकाल्न सकिने देखाएको छ । खानी सञ्चालनका लागि १२५ मेगावाट बराबरको बिजुली आवश्यक पर्छ ।

सांसद तिलबहादुर महतले सो खानी क्षेत्रमा पुग्ने पहुँचमार्ग निर्माण पनि प्रभावकारी रुपमा अगाडि बढाउन माग गरे । व्यापार घाटा कम गर्न पनि फलाम खानी तत्काल सञ्चालनमा ल्याउनुपर्ने उनको जोड थियो ।

सांसद गिरीराजमणि पोखरेलले खानीपानीको भण्डार चुरेमा भइरहेको अतिक्रमण तथा वन फँडानीका कारण जनजीवन प्रभावित भएको बताए ।

बालुवा र क्रसर सञ्चालकका कारण समस्या पैदा भएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्