काठमाडौं । ललितपुर महानगरपालिकाले ‘क्विक रेस्पोन्स टीम’ (क्यूआरटी) सेवा सुरु गरेको छ । महानगरबासीलाई विभिन्न समस्या परेमा तत्काल सहयाग र समाधान गर्नका लागि नगर प्रहरीको क्यूआरटी टोली परिचालनमा ल्याइएको महानगर प्रमुख चिरिबाबु महर्जनले बताए ।

क्विक रेस्पोन्स टिम विद्युतीय दुई पाङ्ग्रे सवारीसाधन लिएर हिँड्ने छन् । उक्त टोलीले कुनै पनि घटना–दुर्घटना वा भइपरि आउने जस्तोसुकै कामका लागि तत्काल सेवा र सहयोग गर्ने महर्जनको भनाइ छ ।
उनका अनुसार क्यूआरटी टोलीले नगर सफाइदेखि सार्वजनिक आवागमनमा बाधा पु¥याउने गरी राखिएका फुटपाथ पसल हटाउन, अनाधिकृत विज्ञापन तथा होडिङ बोर्ड नियन्त्रण र हटाउने काम गर्नेछन् ।
यस्तै, सामान्य सवारी पार्किङ व्यवस्थापनदेखि घटना र दुर्घटनाका बेला महानगरबासीलाई तत्काल सेवा दिन क्यूआरटी सेवा सुरू गरिएको महानगरका नगर प्रहरी प्रमुख सिताराम हाथेछुले जानकारी दिए ।
नगरको सुव्यवस्था कायम राख्न तथा कुनै घटना दुर्घटना भइहाले घटनास्थलमा तत्काल पुग्न दुई पाङ्ग्रे विद्युतीय सवारीसहितको क्यूआरटी टोली परिचालित हुने उनले बताए ।
क्यूआरटी टोलीले महानगरपालिकाबाट स्वीकृत नलिइ तथा मापदण्ड विपरीत अनाधिकृत रुपमा संरचना निर्माण गर्न नदिन र निर्माण भइरहेका संरचनाको काम रोक्न पनि टोलीले काम गर्नेछ ।














