रुपन्देही । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नागरिकता विधेयक नागरिकको हितमा नरहेको बताएका छन् ।
प्रेस चौतारी नेपाल रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले नेपाली नागरिकले बिना कुनै बहानामा नागरिकता पाउनुपर्नेमा सन्देह नभएपनि अहिले सरकारले ल्याएको विधेयक त्रुटिपूर्ण रहेको आरोप लगाए । उनले भने, ‘राज्य व्यवस्था समितिमा जुटेको सहमति विपरीत सरकारले विधेयक ल्याएको छ, यो देशको हितमा छैन ।’

एमालेले नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको बताउँदै उनले प्रचलित ऐनअनुसार वैवाहिक अंगीकृत नागरिकता विवाह गरेर आउने वित्तिकै प्राप्तिका लागि प्रक्रिया अगाडि बढाउन सकिने भएकाले उचित नभएको बताए ।
अंगीकृत नागरिकताको सवालमा केही मापदण्ड राख्ने तर उनीहरूलाई कुनै प्रकारको व्यवसाय, नोकरी गर्न नरोक्ने गरी व्यवस्था गर्न सकिने उनको भनाइ छ ।











