काठमाडौं । राप्रपा केन्द्रीय कार्यसमितिको बैठकले पूर्ण समानुपातिक संसद र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको अवधारणा अघि सारेको छ ।

साउनको ५, ६ र ७ गते काठमाडौंमा बसेको बैठकले निर्वाचन प्रणाली खर्चिलो भएको भन्दै वर्तमान शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सुुधार गर्नुपर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
राप्रपाले अभिभावकीय संस्थको रुपमा राजसंस्था रहनुपर्ने र प्रदेश पनि खारेज गर्नुपर्ने प्रस्ताव गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । ‘तीन तहको संघीयता होइन, प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तह रहने व्यवस्था स्थापनामा राप्रपा प्रतिवद्ध छ र यी मुद्दालाई राप्रपाले आफ्नो कार्यनीति बनाउनेछ’ वैठकपछि प्रवक्ता श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
राप्रपाले विगतका आवधिक निर्वाचनमा सरकार निष्पक्ष नरहेको भन्दै आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र विश्वसनीय रुपमा सम्पन्न गर्न निष्पक्ष चुनावी सरकार माग गरेको छ ।











