काठमाडौँ । ऊर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसालले छोरीले अधिकार प्राप्तिका लागि लड्न अझै बाँकी रहेको बताएका छन् ।
अखिल (क्रान्तिकारी) ले आयोजना गरेको मनिषा आचार्यको उपन्यास विमोचन कार्यक्रममा मन्त्री भुसालले महिलाले कानूनीरूपमा अधिकार प्राप्त भए पनि अझै कार्यान्वयनका लागि लड्न बाँकी रहेको उल्लेख गरे ।

महिलाको सम्पत्तिमा अधिकार कानूनीरूपमा प्राप्त भए पनि अझै पूर्णरूपमा कार्यान्वयनमा आउन नसकेको उनले उल्लेख गरे । उनले भने,’सम्पत्ति माग्दा दाजुभाइ रिसाउँछन् कि भन्ने भयले महिलाले सम्पत्ति माग्न सकिरहेका छैनन् ।’
आफैँले पनि अध्ययन सुरु गरेदेखि राजनीतिमा संलग्न हुँदासम्म पटक पटक विद्रोह गरेको मन्त्री भुसालले बताए । छोरीले पढ्नु हुँदैन भन्ने समयमा विद्यालय हुँदै उच्च शिक्षा लिनु आफैँमा विद्रोह भएको उनले उल्लेख गरे ।
छोरी मान्छे भएर राजनीतिमा संलग्न भएर जेलमा पर्दा समाजले स्वीकार नगरेको उनको भनाइ छ । उनले भने, ‘कुनै राम्रो काम गर्दा पनि छोरीले गरी भनेर होइन छोराजस्तो गरेको भन्ने गरेको पाइन्छ ।’
सञ्चारिका समूहकी अध्यक्ष बिमला तुम्खेवाले साहित्यमा सधैँ महिला कति आए र कति टिकेभन्दा विषयवस्तुमा गहन छलफल बाँकी रहेको औँल्याए । प्राध्यापक सन्तोष परियारले आचार्यले सामाजिक यर्थाथवादी तर विद्रोही आख्यान लेख्नुभएको उल्लेख गरे ।











