Logo
Logo

आइजीको ‘लिष्ट’ गृह मन्त्रालयबाट काटियो



काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सरुवा–बढुवामा बिचौलिया हावी भएपछि प्रहरी महानिरीक्षकहरू कमजोर भएका छन् । बिचौलियाहरूले पैसा उठाउने र शक्तिकेन्द्रबाट काम गराउन थालेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपीहरू निरीह बनेका हुन् ।

दुवै संगठनको हालैको सरुवा बढुवामा त्यसको संकेत पनि देखिएको छ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले डिआइजीको पदस्थापन गर्दा १ नम्बरमा बढुवा भएका बसन्तबहादुर कुँवरलाई महानिरीक्षकको कार्यालय, २ नम्बरका टेक प्रसाद राईलाई बिशेष ब्यूरो तथा ३ नम्बरमा अशोक सिंहलाई कार्य विभागमा पदस्थापनको प्रस्ताव मन्त्रालय पठाएका थिए । उनीहरूको अनुभवका आधारमा यस्तो पोष्टिङको प्रस्ताव थियो । तर, पोष्टिङ उल्टिएर आयो ।

बिशेष ब्यूरोको अनुभव भएका टेकप्रसादलाई सचिवालयमा, सचिवालयको अनुभव भएका बसन्तबहादुर कुँवरलाई कार्यमा र कार्यमा अनुभव भएका सिंहलाई भने अनुभव नै नभएको बिशेष ब्यूरोमा पदस्थापन गरिएको थियो । सिंहले बालुवाटारका बिचौलियामार्फत यसरी सरुवासूची पल्टाएका थिए । एसपी बढुवामा पनि जसले शक्तिकेन्द्रलाई प्रभावमा पारे, उनीहरू मात्र पर्न सफल भएका थिए ।

अहिले बिचौलियाकै चलखेलका कारण एसपीको सरुवा निस्कन सकेको छैन । सरुवामा समस्या भएपछि आइतबार रिक्त भएका जिल्लामा प्रहरी प्रधान कार्यालयले काज सरुवा गरेको छ । त्यसमा पनि महानिरीक्षकको सिफारिस भन्दा बालुवाटारको सूची नै हाबी भएको छ ।

सशस्त्र प्रहरी बलमा पनि विद्रोहकै अवस्था छ । क्षमता नभएका दिपेन्द्र कुँवरलाई ब्याचबाट पहिलो नम्बरमा गरिएको बढुवाले संगठन नै तरंगित छ । डिएसपीमा ८२ नम्बरमा रहेका उनी एसपीमा ११ औं नम्बरमा परे । कामु बढुवामा उनी पछि पर्ने भएपछि करिब १० महिना एसएसपीका पद रिक्त राखियो । त्यस्तै बिशेष निर्णय गरेर सेनामा स्टाफ कलेज गराइयो ।

अहिले प्रहरी नियमावली नै संशोधन गरेर उनलाई बढुवा गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका ज्वाई भएकै आधारमा उनलाई यसरी अघि बढाइएको छ । जसले सिंगो संगठनभित्रको सिष्टम ध्वस्त भएको छ । सशस्त्रमा एसपी, डिएसपी र इन्सपेक्टरको सरुवाको तयारी भइरहेको छ । त्यसमा पनि बिचौलियाहरु नै हावी भएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्