काठमाडौं । महिलालाई एसिड छ्यापिदिन्छु भन्दै युट्युबमा भिडियो बनाउने एक जना युवा पक्राउ परेका छन् ।
नेपाल प्रहरीको साइबर ब्युरोले नवलपरासी (बर्दघाट सुस्तापूर्व), हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ गिरुवारी टोल बस्ने २६ वर्षीय प्रदीप भन्ने पूर्णचन्द्र भुसाललाई पक्राउ गरेको हो ।

उनले बदमाश केटा नामको युट्युब च्यानल सञ्चालन गर्दै आएका छन् । एउटा भिडियोमा उनले बाटोमा हिँडिरहेकी एक महिलालाई, ‘साथमा भएको पैसा, मोबाइल, गरगहना दिनुस् नदिएमा एसिड हान्दिन्छु’ भनेका थिए ।
उक्त भिडियो अपलोड गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट मंगलबार सात दिन हिरासतमा राख्न अनुमति लिएको छ ।














