काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हाल अर्थतन्त्रमा देखिएका चुनौति कम गर्न दुई सुझाव दिएका छन् । विभिन्न सञ्चार माध्यमका सम्पादकहरूसँगको भेटघाट कार्यक्रममा राष्ट्रपति भण्डारीले अर्थतन्त्रमा देखिएका चुनौतिलाई कम गर्न दुई उपाय अवलम्बन गर्नुपर्ने बताए ।

अर्थतन्त्रमा देखिएका चुनौति कम गर्न फजुल खर्च नियन्त्रण र मितव्ययिता अवलम्बन पहिलो उपाय भएको राष्ट्रपतिको ठहर छ । उनले भने, ‘आर्थिक अनुशासनलाई हामीले अझ कठोरतापूर्वक पालना गर्नु आवश्यक छ । त्यसैले भन्दै आएको छु– अहिले सबैले मुठ्ठी कस्नुपर्ने समय छ । हरेक नागरिक, परिवारदेखि राज्यका निकायहरूलाई खर्च सकेसम्म नियन्त्रण गर्न आग्रह छ । आर्थिक अनुशासन र मितव्ययितालाई हामीले जीवन पद्धतिका रूपमा अवलम्बन गर्नु पर्दछ ।’
अर्थव्यवस्थालाई स्वावलम्बी र आत्मनिर्भर बनाउनुपर्ने राष्ट्रपतिको दोस्रो सुझाव छ । उनले अर्थव्यवस्थालार्य आत्मनिर्भर बनाउन लाभको क्षेत्रमा तत्काल नयाँ फड्को मार्ने गरी कामको सुरुवात गर्नुपर्ने बताए । कृषि, वन, पर्यटन र जलविद्युत क्षेलाई प्राथमिता दिनुपर्ने उनको सुझाव छ ।
वार्षीक करिब चार खर्ब रुपैयाँ बराबरको सामग्री आयत भएको बताउँदै कृषिजन्य सामग्री यहीँ उत्पादन गर्न सके अर्थतन्त्रमा देखिएका चुनौति कम गर्ने सकिने राष्ट्रपति भण्डारीले बताए ।
उनले भने, ‘आफैं उत्पादन गर्न सकिने धान चामल मात्रै करिब ५० अर्ब रुपैयाँ बराबरको आयात भइरहेको छ । सागसब्जी, दाल, मसला र गेडागुडी समेत उसैगरी आयात भएको देखिन्छ । फर्निचर, काठ र अन्य वन पैदावारको पनि त्यही अवस्था छ । कृषि उत्पादनबाट केही महिनामा नै लाभ प्राप्त गर्न सकिने हुनाले ठोस नीति र सकारात्मक हस्तक्षेपका माध्यमबाट उत्पादन बढाई व्यापार घाटा कम गर्ने पहलको सुरुवात गर्न सकिन्छ ।’
‘खेतबारी बाँझो नराखौं’ अभियान चलाउनु पर्ने राष्ट्रपति भण्डारीको सुझाव छ । यसका लागि जनता आफैं जागृत हुनुपर्ने उनले बताए । उनले भने, ‘स्थानीय तहहरूले यस अभियानको नेतृत्व गर्न सक्छ ।’
कोभिड–१९ का कारण प्रभावित भएको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्ने उनको अर्को सुझाव छ । उनले भने, ‘महामारीको प्रत्यक्ष र ठूलो प्रभाव पर्यटनसँग सम्बन्धित उद्योग व्यवसायलाई परेको छ । यसलाई कम गर्दै लैजान हामीले आन्तरिक र वैदशिक पर्यटनलाई प्रवद्र्धन गर्दै क्रमशः उठाउनुपर्ने देखिएको छ ।’
त्यस्तै जलविद्युतलाई जनताको भान्सासम्म पुर्याएर एलपी ग्यासको आयात कम गर्नुपर्ने र पेट्रोलियम इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीले विस्थापन गर्दै लैजाने नीति अवलम्बन गनुपर्ने उनको सुझाव छ ।
उनले भने, ‘जलविद्युतलाई जनताको भान्सासम्म र्पुयाएर एलपी ग्यासको आयात कम गर्दै लैजान सकिन्छ । पेट्रोलियम इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीले विस्थापन गर्दै लैजाने नीति अवलम्बन गरी हामी अर्को सुरुवात गर्न सक्दछौं ।’











