काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल सहभागी नहुने पत्र अमेरिकालाई पठाउन ढिलाइ गरेको विषयमा परराष्ट्रमन्त्रीसँग जवाफ माग्नुपर्ने टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले एसपीपीमा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पठाउन ढिलाइ गरेको बारे परराष्ट्रमन्त्रीसँग जवाफ माग्नुपर्ने बताए ।
बैठकमा अध्यक्ष नेपालले परराष्ट्र मन्त्री डा. नारायण खड्कासँग जवाफ माग्नुपर्ने बताए । सरकारले एसपीपीमा सहभागी नहुने निर्णय गरी परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गर्ने निर्णय गरेको थियो । तर परराष्ट्रले भने उक्त पत्र अध्ययन भइरहेको भन्दै अमेरिका पठाएको छैन ।
यस विषयमा रक्षा मन्त्रालयका सचिवसँग पनि जवाफ माग्नुपर्ने उनले बताए । अध्यक्ष नेपालले अनुचित शर्त राखेको आर्थिक सहयोग त लिन नहुने भन्दै कुनै सैन्य सहयोग लिनेबारे त सोच्न पनि नसकिने बताए ।














