Logo
Logo

नेपाल प्रहरीको कार्यक्षेत्र कटौती, सशस्त्र प्रहरीलाई थप जिम्मेवारी ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ साउन ।
सांसदहरुले नेपाल प्रहरीको कार्यक्षेत्र कटौती गरेर सशस्त्र प्रहरीको बढाउने प्रस्ताव गरेका छन् ।
आइतबारको राज्य व्यवस्था समितिको बैठकमा सांसदहरुले यस्तो प्रस्ताव गरेका हुन् । जनार्दन शर्मा (प्रभाकर), नवराज सिलवाल, दिलेन्द्रप्रसाद बडुलगायतले नेपाल प्रहरीलाई अपराध अनुसन्धानसँग सम्बन्धित ठाउँमा मात्र खटाउनुपर्ने प्रस्ताव गरेका हुन् ।

बैठकमा पूर्वगृहमन्त्री शर्माले नेपाल प्रहरीलाई अपराध अनुसन्धानको मात्रै जिम्मा दिएर सुरक्षाको सबै जिम्मा सशस्त्र प्रहरीलाई दिनुपर्ने प्रस्ताव राखे । उनको प्रस्ताव थियो, ‘तत्काल अनुसन्धान गर्नुपर्ने ठाउँमा नेपाल प्रहरीलाई राखौं । त्यस्तो नपर्ने ठाउँमा सुरक्षा मात्रै गर्ने जिम्मा सशस्त्रलाई दिऔं । विमानस्थलमा तत्काल पक्राउ गर्नुपर्ने, खानतलासी गर्नुपर्ने जिम्मा नेपाल प्रहरीलाई दिऔं, तर सुरक्षाको जिम्मा सशस्त्रलाई दिऔं ।’

शर्माको यो प्रस्तावमा अन्य सांसदहरुले पनि समर्थन जनाए । कांग्रेस सांसद बडुले सशस्त्र प्रहरीको काम कर्तव्य र अधिकार हेरेर सशस्त्र वा नेपाल प्रहरी कसलाई कुन जिम्मा दिने भनेर स्पष्ट पार्नुपर्ने बताए ।

पूर्व डीआईजीसमेत रहेका नेकपा सांसद नवराज सिलवालले राष्ट्रिय आयोजनाको सुरक्षा जिम्मा सशस्त्र प्रहरीलाई दिनुपर्ने बताए । ‘विमानस्थल, राजमार्ग, राष्ट्रिय महत्वका आयोजनाको सुरक्षाको जिम्मा एपीएफलाई दिऔं,’ सिलवालले भने, ‘कारागारको सुरक्षामा नेपाल प्रहरीको पनि टोली राखौं ।’

राज्य व्यवस्था समितिमा नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सन्चालन, सुपरीवेक्षण र समन्वयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल भएको छ । विधेयकको दफा ३ मा नेपाल प्रहरीको काम कर्तव्यको व्यवस्था छ । यही दफामाथि सांसदहरुले आ–आफ्ना धारणा राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्