
काठमाडौं । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले सर्वसाधारणको आम चासोका समस्या समाधानमा सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कार्यालय आलोकनगरमा नागरिकको समस्याबारे जानकारी लिंदै यस्तो बताएका हुन् ।मन्त्री श्रेष्ठसँग सर्वसाधारणले व्यक्तिगत, स्थानीय समस्या तथा पुर्वाधार सम्वन्धी समस्या राखेका थिए ।
२ घण्टा पार्टी कार्यालय रहेका मन्त्री श्रेष्ठले सय जनाको गुनासो सुनेका थिए । ‘जनताको समस्या समाधानमा म केन्द्रित छु,’ उनले भने, ‘मन्त्रीको कार्यभार सम्हालेको छोटो अवधिमै नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना ल्याइ कार्यन्वयन अघि बढाउन सफल भएको छु ।’
आफुले लक्ष्य तोकेर अघि बढाएका योजनाको परिणाम केही समयभित्र देखिने र त्यसले मुलुकलाई दीर्घकालीन रुपमा फाइदा हुने मन्त्री श्रेष्ठले बताए । समाजवादीले नेता, सांसद र मन्त्रीसम्म पहुँच नभएका नागरिकका गुनासो सुन्न र समाधान गर्न पार्टीबाट सरकारमा गएका हरेक मन्त्रीलाई हप्ताको १ दिन पार्टी कार्यालयमा पुगेर गुनासो सुन्ने व्यवस्था गरेको हो ।
मन्त्री निवास र मन्त्रालयमा धाउनुभन्दा पार्टी कार्यालयमै मन्त्रीसमक्ष समस्या राख्न पाउँदा खुसी लागेको सर्वसाधारणले बताएका छन् ।














