काठमाडौँ । ललितपुर जिल्ला अदालतले महासचिव नेत्रविक्रम चन्दसहितका नेताहरूका नाममा पक्राउ पुर्जी जारी गरेपछि नेकपाले सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयन हुनुपर्ने बताएको छ ।

नेकपाले आज विज्ञप्ति जारी गर्दै सहमति कार्यान्यवयन नभए गम्भीर अवस्था निम्तिन सक्ने चेतावनी दिएको हो । प्रवक्ता खड्गबहादुर विश्वकर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी, नेतृत्व, कार्यकर्ता र तीन बुँदे सहमतिका विरुद्ध सरकार र राज्यले आज घटाएको घटनालाई तुरुन्त रोकिएन र तीन बुँदे सहमति तदारुकताका साथ कार्यान्वयन गरिएन भने हाम्रो पार्टी हातमा दही जमाएर नबस्ने चेतावनी शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार र राज्यका अधिकारीहरूलाई दिन चाहन्छौँ ।’
पार्टी एकीकृत जनक्रान्तिको संवेदनशील प्रक्रियामा रहेको उल्लेख गर्दै सहमति कार्वान्वयनमा सरकार र अधिकारी उत्तरदायी नभए भविष्यमा निम्तिने अवस्थाको जिम्मेवारी पनि उनीहरूले नै लिनुपर्ने प्रवक्ता विश्वकर्माले बताएका छन् ।














