Logo
Logo

विमानस्थलमा डिआईजी ‘इन’, एसएसपी ‘आउट’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ साउन ।
प्रहरीमा व्यक्तिका लागि नियम परिवर्तन गर्ने प्रणाली सामान्य हुन थालेको छ । महानगरीय प्रहरी कार्यालमया विगतमा एआईजीको नेतृत्व हुन्थ्यो । डेढ वर्षअघिदेखि त्यहाँ डिआईजी खटाउन थालिएको छ । महानगरीय प्रहरी कार्यालयमा डिआईजी खटाएपछि विमानस्थल प्रहरी कार्यालमया एसएसपी खटाउन थालियो ।
तर, अहिले आएर विमानस्थलमा फेरि डिआईजीलाई खटाइएको छ । अझ रमाइलो त के छ भने आफु भन्दा जुनियर ब्याचका डिआईजीको कमाण्डमा सिनियर ब्याचका डिआईजी सूर्य प्रसाद उपाध्यायलाई विमानस्थलमा खटाइएको छ ।


उपाध्यायको गत महिना नै विमानस्थलमा सरुवा भएको हो । तर, तालिमका कारण उनले जिम्मेवारी सम्हालेका थिएनन् । गत सातादेखि उनले विमानस्थलको नेतृत्व सम्हालेका छन् ।
उनले नेतृत्व सम्हालेपछि यसअघि विमानस्थल प्रहरी प्रमुख रहेका एसएसपी सन्दीप भण्डारी बिदामा बसेका छन् । स्रोतका अनुसार उनले आफूलाई अन्यत्र  खटाउन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई आग्रह गरेका छन् ।

ललितपुर परिसरको इन्चार्ज हुने उनको सम्भावना छ । ललितपुर परिसरका रबिन्द्र धानुक र र ट्राफिक महाशाखाका एसएसपी बसन्त पन्तको एक वर्षको अवधि पुगिसेको छ ।

एक नम्बरमा बढुवा भएका एसएसपी भण्डारीको पहिलो पोष्टिङ नै इन्चार्जका रुपमा विमानस्थलमा भएको थियो । उनले विमानस्थलमा केही सुधारको कामको प्रयास भने गरको थिए । यद्यपी कामभन्दा बढी चर्चा खोजेको आरोप उनीमाथि लाग्यो ।

उता महानगरीय प्रहरी कार्यालयमा जुनियर डिआईजी शैलेश थापा क्षेत्री कार्यरत छन् । विमानस्थल प्रहरी उनकै कमाण्डमा खटिन्छ । डिआईजी उपाध्याय आफूभन्दा जुनियर डिआईजीको कमाण्डमा खटिनुलाई धेरै अनौठो मानेका छन् । यसअघि यस्तै समस्या भएपछि डिआईजी शेरबहादुर बस्नेतले विमानस्थलबाट सरुवा मागेर सुरक्षा परिषद् गएका थिए ।
डिआईजी उपाध्याय २०४७ असारका भर्ना हुन् भने डिआईजी थापा २०४९ सालका भर्ना हुन् । यद्यपी डिआईजी भने सँगै भएका थिए ।

प्रतिक्रिया दिनुहोस्