
काठमाडौं। केही दिनयता देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ । भारी वर्षाका कारण पहिरो जाँदा सडक अवरुद्ध भएका छन्।
आज पनि देशभर मनसुन सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान प्रदेश १, बागमती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केहि र बाँकी प्रदेशका एक(दुई स्थानहरुमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
विभागका अनुसार आजर राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । वाग्मती प्रदेश, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
भारी वर्षाको सम्भावना रहेका भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने र दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।














