Logo
Logo

सशस्त्रको अस्पतालमा भ्रष्टाचार



काठमाडौं । कोरोनाकालमा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालले हजारौंलाई सेवा दियो । सरकारले डेडिकेटेड कोभिड अस्पताल बनाएर प्रशस्त बजेट पनि दिएको थियो । तर, त्यो बजेटमा ठूलै हिनामिना समेत भएको भेटिएको छ ।

महालेखाले गरेको छानबिनमा करोडौंका सामान सिधैं खरिद गरिएको छ । नियमित बजेटबाट मात्र ठेक्का टुक्राएर दुई करोड ९३ लाखका सामान खरिद गरिएको छ । अझ सम्झौता गरेको बाहेक पाँच करोड ९७ लाखको सोझै खरिद गरिएकोमा महालेखाले प्रश्न उठाएको छ । औषधी, सर्जिकल, रेडियोलोजी, प्याथोलोजी, सरसफाई तथा बिरामीको खानामा यसरी अपारदर्शी रुपमा खरिद सम्झौता गरिएको हो ।

त्यस्तै, कोभिड रोकथाम र नियन्त्रणमा एक वर्षमा अस्पतालले ३७ करोड २६ लाख रुपैयाँ खर्च गरेको थियो । जसमध्ये ६ करोड २८ लाख जोखिमभा र बैठकभत्ता तथा ५ करोड ४९ लाख रुपैयाँ खाजाका नाममा खर्च गरिएको छ । एक वर्षमा अस्पतालका कर्मचारीले साढे पाँच करोडको खाजा खाएको विवरण अविश्सनिय छ । अस्पतालले बिशेष परिस्थितीको कारण देखाउँदा पाँच करोड ५१ लाख रुपैयाँको औषधीजन्य सामान बोलपत्रदाताको रेटअनुसार नै खरिद गर्दा अनियमितता भएको आशका महालेखाको छ ।

सशस्त्र प्रहरी अस्पतालको खरिदका विषयमा लामो समयदेखि प्रश्न उठ्दै आएको छ । हरेक खरिदमा सेटिङ हुने भन्दै डा रुपम महर्जनविरुद्ध यसअघि पनि विभिन्न निकायमा उजुरी परेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोगाएपनि महालेखाको प्रतिवेदनले अस्पतालमा आर्थिक अनियमितता रहेको पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्