राष्ट्रपति र प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको भेटवार्ता « Drishti News – Nepalese News Portal
Logo

राष्ट्रपति र प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको भेटवार्ता


appharu



काठमाडौं, २६ पुस ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहेका जापानका विदेशमन्त्री तारो कोनोले आज बिहान राष्ट्रपति कार्यालय शितल निवासमा शिष्टाचार भेट गरेका छन् ।

त्यस अवसरमा नेपाल–जापान सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचार विमर्श भएको छ । भेटमा नेपालका लागि जापानका राजदूत मासामिची साइगो, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि कोनोले आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गरेका छन् ।

त्यस अवसरमा नेपाल–जापान सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचार विमर्श भएको छ । मन्त्री कोनो नेतृत्वको जापानी प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले नेपालको सामाजिक, आर्थिक विकासमा जापानबाट निरन्तर सहयोग प्राप्त भएकामा आभार व्यक्त गर्दै नेपाल सरकारको विकास निर्माणका प्राथमिकता, कृषि क्षेत्रको आधुनिकीकरण, ऊर्जा उत्पादन, पूर्वाधार विकासलगायत क्षेत्रमा सहायताका निम्ति अनुरोध गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले जानकारी दिए।

प्रधानमन्त्री ओलीको अनुरोधलाई सकारात्मक रुपमा लिएको र जापानले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको उनले बताए । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) जस्ता क्षेत्रीय सङ्गठनको विकास हुनुपर्नेमा जोड दिँदै मन्त्री कोनोले जापानले सहयोग गर्ने बताएको भट्टराईले बताए ।

भेटमा सूर्य्विनायक–धुलिखेल सडक विस्तार, कलङ्की–नागढुङ्गा सुरुङमार्ग निर्माण, नेपाली श्रमिकलाई जापानमा रोजगारी प्रदान गर्नेलगायत पारस्परिक सहयोगका क्षेत्रबारे पनि विचार विमर्श भएको सल्लाहकार भट्टराईको भनाइ छ ।

नेपालसँग श्रम सम्झौता गर्न जापानी टोली निकट भविष्यमा काठमाडौँ आउने तथा नेपाल र जापानबीच हवाई सेवा सम्झौता भएसँगै नेपालको पर्यटन प्रवर्द्धन र विशेषगरी नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जापानबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त भएको भट्टराईले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्