Logo
Logo

स्कुल विभागको महत्व


- दृष्टि न्युज/संवाददाता


तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकताप्रक्रियापछि बनेको मुलुकको सबैभन्दा ठूलो राजनीतिक पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकताको अन्तिम संघारमा छ । एकताको १५ महिनापछि झन्डैझन्डै सांगठनिक जिम्मेवारी बाँडफाँट र कमिटीहरू गठनका कार्य टुंगिएका छन् । तर, छिमल्न लागिएको यो प्रक्रिया स्कुल विभागको जिम्मेवारी कसलाई दिने भन्ने विवादले यतिबेला भने अवरुद्ध छ । गत ५ साउनयता सचिवालयको बैठक तीनपटक स्थगित भयो । कारण थियो, स्कुल विभागको जिम्मेवारी बाँडफाँट । यो विवाद टुंग्याउन पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पनि पर्याप्त छलफलमा जुटेको देखिन्छ । तर, सहमति खोज्न असमर्थ छन् । आखिर किन ? स्कुल विभागको नेतृत्व लिन किन हानथाप भइरहेको छ ? यो प्रश्नको उत्तरसँगै यो विभागको महत्व झल्किन्छ । यो त्यस्तो विभाग हो, जसले पार्टी महाधिवेशनबाट लिइने वैचारिक राजनीतिक लाइनमा पार्टी सदस्यहरूलाई प्रशिक्षित गर्छ । यसकारण, पार्टीमा यो अत्यन्त प्रभावकारी विभाग हो । यो विभागका लागि तत्कालीन नेकपा एमालेकातर्फबाट ईश्वर पोखरेल र तत्कालीन माओवादी केन्द्रकातर्फबाट नारायणकाजी श्रेष्ठ प्रकाशको नाम सबैभन्दा बढी चर्चामा छ । त्यसोतः नेकपा एमालेकै घनश्याम भुषाल र बेदुराम भुषालले पनि दाबी गरिरहेका छन् ।

सहमति जुट्न नसक्दा यो विभाग अध्यक्षद्वयले आफ्नै जिम्मेवारीमा राख्ने खबरहरू पनि आइरहेका छन् । तर, यसो गर्नु उचित देखिँदैन । मुलुकको इतिहासमै सबैभन्दा ठूलो पार्टीमा बनेको नेकपाका कुनै पनि विभागमा दाबेदारी अस्वभाविक मान्नु हुँदैन । लाखौँ कार्यकर्ता भएको पार्टीमा पछिल्ला समय जुन सिथिलता देखिएको छ, त्यसलाई चिर्दै पार्टीभित्र ऊर्जा प्रदान गर्न, कार्यकर्तालाई राजनीतिक रूपले प्रशिक्षित गर्न योग्य व्यक्तिलाई जिम्मेवारी दिनुपर्छ । सहमति जुट्न नसकेको नाममा अध्यक्षद्वयले आफैँसँग विभाग राख्ने भूल अब गर्नु हुँदैन । यस्तो भूल विगतमा भइसकेको छ । तत्काली नेकपा एमालेको नवौँ महाधिवेशनपछि स्कूल विभागको जिम्मेवारीमा धनश्याम भुषालले दाबी गरेका थिए । तर, उनलाई त्यो जिम्मेवारी नदिई अध्यक्ष ओलीले आफैँसँग राखे । सिंगो पार्टीको जिम्मेवारीका कारण आउने स्वभाविक व्यस्तताले त्यो जिम्मेवारी पूरा गर्न ओली समर्थ हुने अवस्था नै थिएन । परिणामतः त्यस्तै भयो । त्यसअवधिभर स्कुल विभाग ‘फङ्सन’मै देखिएन । यस्तो भूल अब दोहो¥याइनु हुँदैन ।

पार्टीका एक अध्यक्ष ओली प्रधानमन्त्रीसमेत छन् । जिम्मेवारीको बोझले ओली थिचिएका छन् । ओलीको व्यस्तताका कारण पार्टीका नियमित बैठकसमेत प्रभावित हुने गरेका छन् । यस्तोमा थप जिम्मेवारीले पार्टीलाई थप सिथिल बनाउनेछ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी पार्टीबीच एकता भएर बनेको नेकपाभित्र विचारको समानता छैन । दुई पार्टीका नेता–कार्यकर्ता अलगअलग स्कुलिङबाट आएका छन् । एउटै विषयको बुझाई र प्रस्तुतिमा अहिले ती अलग स्कुलिङका भिन्नता स्पष्टै देखिन्छ । यस्तो पार्टीका लाखौँ कार्यकर्तालाई एउटै राजनीतिक विचारधाराबाट प्रशिक्षित गर्नु चानचुने काम हुँदै होइन । यो जिम्मेवारी अत्यन्त गहन जिम्मेवारी पनि हो । यस्तो जिम्मेवारी निभाउन सकेसम्म राजनीतिक विचारधाराहरूका अध्ययनमा गहन रुचि राख्ने, सटिक विश्लेषणात्मक क्षमता राख्ने र सरल ढंगले प्रस्तुत गर्न सक्ने नेताको चयन हुनुपर्दछ । अझ, विविध जिम्मेवारीले थिचिएका शीर्षस्थ नेताभन्दा जिम्मेवारी नपाएका परिपक्व नेतालाई त्यस्तो जिम्मेवारी दिइयो भने स्कुल विभागको प्रभावकारिता बढ्नेछ । गुटगत स्वार्थभन्दा माथि उठेर पार्टी नेतृत्वले त्यस्तो जिम्मेवारी सम्पने हो भने मात्र लाखौँ कार्यकर्ता भएको पार्टी राजनीतिक रूपमा प्रशिक्षित हुनेछन् । समाजवादको यात्रामा हिँडेका कमरेडहरू वैचारिक रूपले स्पातजस्तो बन्नुको विकल्प हुँदैन । तर, त्यसका लागि स्कुल विभागको सारथी पनि त्यस्तै धारिलो हुनु आवश्यक छ । त्यति हुन सक्यो भने मात्र समाजवादको यात्रामा हिँडेका लाखौँ सहयात्रीबीच वैचारिक एकरूपता सम्भव हुन्छ । त्यसले यात्रालाई सहज पनि बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस्