काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ‘नेपाल एक चीन नीति’प्रतिको प्रतिबद्धतामा दृढतापूर्वक उभिनेमा विश्वास व्यक्त गरेकी छन् ।
अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणबारे बुधबार बिहान टिप्पणी गर्दै राजदूत यान्छीले ‘ताइवान स्वतन्त्रता’को नेपालले दृढतापूर्वक विरोध गरेको भन्दै उक्त विश्वास व्यक्त गरेकी हुन् ।

राजदूत यान्छीले भनेकी छन्, ‘चीनले एक चीन सिद्धान्तप्रति नेपालको लामो समयदेखिको प्रतिबद्धता र ताइवान स्वतन्त्रताको दृढतापूर्वक विरोध गरेकोमा उच्च प्रशंसा गर्दछ । यो नेपाल–चीन सम्बन्धको राजनीतिक आधार पनि हो ।’
उनले चीन–नेपाल हिमाल र नदीले जोडिएका असल छिमेकी, भरपर्दो मित्र र साझेदार रहेको पनि उल्लेख गरेकी छन् । ‘दुई देशले आफ्नो सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डता सम्बन्धी मूल हितका मुद्दाहरूमा सधैं एकअर्कालाई बुझेका छन् र समर्थन गरेका छन ।’
उनले एक चीन सिद्धान्तप्रति चीनको वैध र जायज अडानलाई बुझेर नेपालले समर्थन गर्ने विश्वास व्यक्त गर्दै भनेकी छन्, ‘हामी विश्वास गछौंँ कि नेपाल सरकार र यहाँका जनताले एक चीन सिद्धान्तको पालना गरिरहनेछन् र चीनको वैध र जायज अडानलाई बुझेर निरन्तर समर्थन गर्नेछन् ।’ उनले चीन नेपाल एकअर्काको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको मिलेर रक्षा गर्ने समेत बताएकी छन् ।
पेलोसीले चीनको ताइवान क्षेत्रको भ्रमण गर्नु एक चीन सिद्धान्त र चीन–अमेरिकाको राजनीतिक आधारको गम्भीर उल्लंघन भएको यान्छीको भनाइ छ । उनले भनेकी छन्, ‘यो भ्रमणले चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा गम्भीर उल्लंघन गर्दछ । चीनले यसको दृढतापूर्वक विरोध र कडा निन्दा गर्दछ ।’
यसैबीच चीनको विदेश मन्त्रालयले बेइजिङस्थित अमेरिकी राजदूत निकोलश बन्र्सलाई बोलाएर अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमणबारे विरोध जनाएको छ । चिनियाँ उपविदेशमन्त्री से फेङले पलोसी भ्रमणको प्रकृति खराब भएको भन्दै गम्भीर परिणामको चेतावनी दिएका छन् । उनले यस विषयमा चीन चुप नबस्ने पनि बताएका छन् ।
मंगलबार ताइवान पुगेकी पलोसी बुधवार त्यहाँको संसद्मा पुगेकी छिन् । उनले ताइवानका राष्ट्रपतिसँग पनि भेट गर्ने ठानिएको छ । अमेरिकी संसदको तल्लो सदनकी सभामुख पलोसी मंगलवार ताइवान पुगेपछि चीनले ताइवानमाथि सम्भावित बल प्रयोग गर्नसक्ने भन्दै ताइवानले त्यसको तयारी गरिरहेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।














