Logo
Logo

७८ करोड ठगीमा सहसचिवको समेत मिलेमतो



काठमाडौं, २६ पुस ।
नाटकीय शैलीमा राज्यलाई ७८ करोड रुपैयाँ कर छलीको घटनामा सहसचिवको समेत मिलमेतो खुलेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले सहसचिवसहित सात जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
सहसचिव तोयानाथ अधिकारीसहितका कर्मचारीविरुद्ध मुद्दा दायर गरेको हो ।

यसरी भयो ठगी
राष्ट्रिय वाणिज्य बैंकका अवकाशप्राप्त कर्मचारी लीलाप्रसाद श्रेष्ठले गृहजिल्ला पाँचथर छाडेको धेरै वर्ष भइसक्यो । दुई महिनाअघि उनको स्थायी ठेगाना फिदिम–३ मा आन्तरिक राजस्व कार्यालय बबरमहलले एउटा पत्र पठायो । संयोगले पत्र आएका वेला उनका दाइ घर पुगेका थिए । उनले सो पत्र काठमाडौं ल्याएर भाइलाई दिए ।

पत्र खोलेर पढेका मात्र के थिए, लीलाप्रसाद बेहोस भए । आफन्तले उनलाई हतार–हतार अस्पताल पु(याए । किनभने त्यो सामान्य पत्र थिएन । पत्रमा लेखिएको थियो, ‘तपाईंको नाममा रहेको सुन्द्रादेवी टेलिटक प्रालि (स्थायी लेखा नम्बर ६०२४१८४२१)ले कर दाखिला नगरेको हुँदा यस कार्यालयमा उपस्थित हुनुहोला ।’ कम्पनीको नाममा ७८ करोड रुपैयाँ कर दायित्व थियो । कहिल्यै व्यापार नगरेका लीलाप्रसादलाई ७८ करोड तिर्नुपर्ने पत्र आएपछि बेहोस भएका थिए ।

उनका कतिपय आफन्तलाई पत्र नक्कली हो कि भन्ने लाग्यो । तर, कर कार्यालयमा गएर बुझ्दा पत्र सक्कली नै भन्ने खुल्यो । थप विवरण हेर्दा अरूले नै उनको नागरिकताका आधारमा कम्पनी दर्ता गरेर कारोबार गरेको खुल्यो । आर्थिक वर्ष ०७१र७२ को ९ महिनाको अवधिमा सो कम्पनीले २ अर्ब ४२ करोडको कारोबार गरेको थियो । त्यसपछि कर कार्यालयमा सम्पर्क नराखेपछि नागरिकताका आधारमा लीलाप्रसाद श्रेष्ठको नाममा पत्र लेखिएको थियो ।

नेपाल स्याटेलाइट नेपाल प्रालिसँग सहकार्य गरी एनसेलको सिम तथा रिचार्ज कार्ड बिक्रीको जिम्मा लिएको सो कम्पनीले नौ महिनामा २ अर्ब ४२ करोडको कारोबार गर्दा एक रुपैयाँ पनि कर तिरेको थिएन । लीलाप्रसाद श्रेष्ठ स्याटेलाइट कम्पनी गएर बुझ्दा विजयनारायण श्रेष्ठ नामका व्यक्तिले कारोबार गरेको खुल्यो । तर, विजयनारायण फेला परेनन् । उनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा गएर उजुरी दिए । त्यसपछि अनुसन्धान सुरु भयो ।

अनुसन्धान ब्युरोले सुरुमा काभ्रे घर भई कोटेश्वर बस्ने विजयनारायण श्रेष्ठलाई पक्राउ ग(यो । उनले लीलाप्रसादको नागरिकता कोटेश्वरको बाटोमा भेट्टाएको बयान दिए । त्यसपछि रमेश दाहालसँग मिलेर काम गरेको बताए । नागरिकताका आधारमा कम्पनी दर्ता गर्ने जिम्मा रमेशलाई दिएका थिए ।

कम्पनी रजिस्ट्रारको कार्यालयमा बिचौलियाको रूपमा काम गर्ने शरद रिजालमार्फत कम्पनी दर्ता गरेको रमेशले बताए । शरदले कार्यालय सहयोगी सुनील कार्कीको नाम लिए । सुनीललाई पक्राउ गरी सोधपुछ गर्दा उनले अधिकृत टेकबहादुर पुलामीको संलग्नता खुलाए । टेकबहादुरलाई पनि सिआइबीले पक्राउ गरी मुद्दा दायर गरेको छ । उनले सहसचिव तोयानाथ अधिकारीले कम्पनी स्वीकृत गरेको बताएका छन् । तोयानाथलाई समेत प्रतिवादी बनाएर लिखतसम्बन्धी कसुर मुद्दा दायर गरिएको छ ।

विजयनारायण, रमेश, दिनेश र शरद रिजाल बुधबार १–१ लाख धरौटीमा छुटेका छन् । सुनील र टेकबहादुरसँग पनि १५–१५ हजार धरौटी मागिएको छ । राजस्व ठगी सम्बन्धमा अनुसन्धान गर्न उनीहरूलाई राजस्व अनुसन्धान विभागमा पठाइएको सिआइबीका अनुसन्धान अधिकृत डिएसपी कवित कटवालले बताए ।

सो कम्पनीले ७२ करोड भ्याट र ५ करोड ९९ लाख रुपैयाँ आयकर तिर्नुपर्ने कर कार्यालयले जनाएको छ । घटनामा स्याटेलाइट कम्पनीका केही अधिकारीको समेत मिलेमतो हुन सक्ने भए पनि पक्राउ परेकाहरूले उनीहरूको नाम लिएका छैनन् । ‘नक्कली कम्पनी खडा गरेर कसरी करोडौँ कर छली भइरहेको छ भन्ने यो प्रतिनिधि घटना मात्र हो,’ अनुसन्धानमा आबद्ध सिआइबीका एक अधिकारीले भने, ‘यस्तो प्रवृत्ति व्यापक छ ।’

प्रतिक्रिया दिनुहोस्