
भक्तपुर । भक्तपुरमा ८ मतदान स्थल परिवर्तन भएका छन् । जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको सिफारिसमा ती मतदान स्थल परिवर्तन गरेको हो ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीका अनुसार भक्तपुर नगरपालिकाका ३, मध्यपुरथिमि नगरपालिकाका ३ र चाँगुनारायण नगरपालिकाका २ मतदानस्थल परिवर्तन भएको छ ।
भक्तपुर–२ को जागृति माध्यमिक विद्यालय खौमाको मतदान स्थललाई जनज्योति पुस्तकालयको नयाँ भवन, वडा नं ७ को महेश्वरी सत्तल इनाचो मतदान स्थललाई पँम्बो गणेश (खँचा पोखरीसँगै) र वडा नं ९ को नगरपालिका नयाँ भवन मतदान स्थललाई बागेश्वरी माध्यमिक विद्यालय च्याम्हसिंहमा सार्ने निर्णय गरिएको छ ।
मध्यपुरथिमि नगरपालिका–१ को उपस्वास्थ्य चौकी मतदान स्थललाई युनिक नेपाल स्कुल, वडा नं ४ दथुटोल परिवार नियोजन क्लिनिक मतदान स्थललाई आदर्श माध्यमिक विद्यालय र वडा नं ५ को नासननी पाटी मतदान स्थललाई सिद्धिकाली मन्दिर परिसरमा सारिएको छ ।
चाँगुनारायण नगरपालिका–१ सरस्वती मन्दिर पाटी सरस्वतीखेलको मतदान स्थल श्री विनायक सरस्वती आधारभुत विद्यालय र वडा नं ३ को पुरानो गाविस भवन झौखेल मतदान स्थल शहरी स्वास्थ्य केन्द्रमा कायम गरिएको छ । भक्तपुरमा मतदान स्थलको संख्या घटेको छ ।
यसअघि ७७ मतदान स्थल भएकामा अब ७६ मतदान स्थल कायम गरिएको बिसीले बताए । मध्यपुरथिमि–४ को दथुटोल परिवार नियोजन क्लिनिक मतदान स्थललाई आदर्श माध्यमिक विद्यालय मतदान स्थलमा गाभिएको छ ।
भक्तपुरमा २१९ मतदान केन्द्र छन् ।














