Logo
Logo

निर्मला प्रकरणका एक वर्ष : घुमीफिरी दिलीपसिंहमाथि नै अनुसन्धान ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । गत वर्ष देशमा सबैभन्दा बढी चर्चा पाएको घटना हो–निर्मला पन्त प्रकरण । १३ वर्षिया किशोरीलाई बलात्कारपछि निर्मम तरिकाले हत्या गरियो, त्यसमा प्रहरीको लापरबाही र हत्याकाण्डको कांग्रेसले राजनीतिकरणले गर्दा महिनौंसम्म यो विषयले देशमा तरंग उत्पन्न ग¥यो । गत शुक्रबार सो प्रकरणको एक वर्ष पुगेको छ । एक वर्षसम्म पनि निर्मला पन्तको तरंग सकिएको छैन ।

एक वर्षपछि नेपाल प्रहरीले सो घटनाको असफलताको समीक्षा गर्न थालेको छ । आखिर यति धेरै मेहनत गर्दा पनि किन अभियुक्त पत्ता लागेनन् त ? प्रहरीले शंकास्पद पाँच सय भन्दा धेरैलाई सोधपुछ गरिसकेको छ । १० हजार भन्दा धेरै कल डिटेलको विश्लेषण गरेको छ । ८० जनाको त डीएनए परीक्षण नै गरेको छ । अनुसन्धानमा अब्बल प्रहरी अधिकारीहरु खटिएपनि अभियुक्त पत्ता नलाग्नुका पछाडी के कारण होला भन्ने कुरा धेरैको मनमा खेलेको छ ।

सीआईबीका एक अधिकारी भन्छन्– कि त यसमा मोबाइल नबोक्ने कोही सामान्य भारतीय व्यक्ति अभियुक्त हुन सक्छन्, कि त डीएनए परीक्षणमै त्रुटि भएको हुनसक्छ । यो बाहेक अरु केही हुन सक्दैन ।

घुमुीफिरि दिलीपसिंह ?

प्रहरीले घटनाको २४ औं दिनमा स्थानीय दिलीपसिंह विष्टले निर्मलाको बलात्कारपछि हत्या गरेको भन्दै सार्वजनिक गरेको थियो । तर, उनको संलग्नताको पर्याप्त आधार प्रहरीले दिन सकेन । पक्राउ गरेर सोधपुछ गर्ने क्रममा उनले अभियोग स्वीकार गरे र अन्य परिस्थितिजन्य आधार हेर्दा पनि उनले नै बलात्कारपछि हत्या गरेको देखियो । त्यति आधार भएपछि प्रहरीले अभियुक्त सार्वजनिक गर्ने चलन छ । त्यहीअनुसार सीआईबी टोली र कञ्चनपुर प्रहरीले अभियुक्तलाई सार्वजनिक ग¥यो ।

तर, त्यही दिन बेलुकादेखि प्रहरीसँग रुष्ट रहेका स्थानीयले आन्दोलन सुरु गरे । विष्ट मानसिक रोगी हुन् । मुख्य अभियुक्तलाई जोगाएर उनलाई फसाउन खोजिएको भन्दै आन्दोलन सुरु भएपछि प्रहरीको दशा सुरु भएको थियो । प्रहरीले डीएनए परीक्षणमार्फत विष्टको संलग्नता पुष्टि हुने दाबी गरेको थियो । तर, डीएनए मिलेन । त्यसपछि प्रहरी संकटमा फस्यो । अहिले आएर डीएनए परीक्षणमै त्रुटि भएको र दिलीपसिंह नै अभियुक्त भएको आँकलन गरिएको छ ।

दिलीपसिंहमाथि नै फेरि अनुसन्धान हुनुका तीन कारण छन् । एउटा उनले जसरी निर्मलालाई हत्या गरेँ भनेका छन्, त्यो कुरा बनावटी हुने सम्भावना कम छ । उनले भनेका कुरा र हत्याको प्रकृति ठ्याक्कै मिल्दछ । देव्रे हातले घाँटी न्याकेर हत्या गरेको बताएका छन् । शव परीक्षणमा देव्रे हातबाटै हत्या भएको रिपोर्ट आएको थियो ।

दोस्रो कारण, एक स्थानीय महिलाले सो समयमा दिलीपसिंहलाई आफूले सोही स्थानमा प्रत्यक्ष देखेको बताएकी छिन् । उनीले असुरक्षा महसुुस गरेर आफूले यसअघि प्रहरीबाहेक अन्यत्र बोल्न नसकेको बताएकी छिन् । हालै एक टेलिभिजन कार्यक्रममा उनले सो कुरा बताएकी छिन् । त्यसपछि धेरैले दिलीपमाथि नै शंका गरेका छन् ।

तेस्रो कारण, भनेको निर्मलाकी आमाले समेत विष्टमाथि नै शंका गरेकी छिन् । किनकी उसको स्वभाव नै पहिलेदेखि नै एकान्तमा महिलालाई देखेमा गोप्य अंग देखाउने र दुव्र्यवहार गर्ने खालको थियो । अर्काेतर्फ उनी आफ्नै भिनाजुको हत्या मुद्दामा जेल परेर छुटेका अभियुक्त हुन् ।

यति आधार भए पनि प्रहरी फेरि दिलीपसिंह विष्टमै फर्कन सक्ने आधार छैन । किनकी त्यसका लागि प्रहरीसँग अकाट्य प्रमाण छैन । अब विगतमा जस्तो उनले अभियोग स्वीकार गर्दैनन् । किनकि एक समूहले उनलाई प्रभावमा पारिसकेको छ । डीएनए नमिलेपछि अन्य प्रमाण नभएकाले उनलाई नै फेरि मुद्दा चलाउँदा प्रहरीमाथि फेरि समस्या हुने देखिन्छ । यद्यपि पीडितका आफन्तदेखि प्रहरी र पत्रकारसम्मले दिलीपसिंहमाथि नै फेरि एकपटक आशंका गरेका छन् ।

डीएनएको विश्वसनियतामा प्रश्न

यो प्रकरणले नेपाल प्रहरीको अपराध अनुसन्धानको वैज्ञानिक विधि मानिने डीएनएलाई समेत विवादमा पारेको छ । निर्मलाको भजाइनल स्वावबाट निकालिएको नमुनाबाट डीएनए परीक्षण गरी अभियुक्त पत्ता लगाउन असम्भव रहेको विज्ञहरु बताउँछन् । प्रहरीको गल्तीले गर्दा यो अवस्था आएको उनीहरु बताउँछन् ।

प्रहरीले वाई–एसटिआई विधिबाट डीएनए परीक्षण गरेको छ । जुन विधि वंश पत्ता लगाउन प्रयोग गरिन्छ । व्यक्ति पहिचान गर्ने अटोसोमल प्रविधिबाट परीक्षण हुन नसक्दा अभियुक्त पत्ता लगाउन कठिन हुन्छ । ‘वाई–एसटिआरबाट कुनै पनि व्यक्तिको पुस्ता मात्र पत्ता लाग्छ,’ राष्ट्रिय विधि बिज्ञान प्रयोगशालाका डीएनए विज्ञ दिनेश झा भन्छन्,‘त्यसकारण त्यो प्रविधिबाट बलात्कार गर्ने व्यक्तिको निकटसम्म प्रहरी जानसक्छ, ठ्याक्कै व्यक्ति मेल खाँदैन ।’

प्रहरीले निर्मलाको गुप्ताङबाट बरामद वीर्यको नमुना जोगाउन नसक्दा यस्तो अवस्था आएको हो । वाई–एसटिआर प्रविधिबाट डीएनए परीक्षण गर्ने क्रममा धेरै नमुना नष्ट भएको र अटोसोमल प्रविधिबाट परीक्षण गर्न अब सम्भव छैन । जसकारण निर्मलाका अभियुक्त पत्ता लगाउने एउटै आशा पनि कमजोर छ ।

‘यदि प्रहरीले भजाइनल स्वावबाट सुरुमै विर्य मात्र छुट्याएको थियो भने अटोजोमल प्रविधिबाट परीक्षण सम्भव थियो,’ राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्व कार्यकारी निर्देशक जीवन रिजाल भन्छन्, ‘वाई–एसटिआर विधिबाट परीक्षण गर्दा नमुना नष्ट हुँदा यो घटना जटिल बनेको छ ।’ प्रहरीले भने अटोजोमल प्रविधिबाट पनि परीक्षणको प्रयास गरेको थियो । तर, नमूना पर्याप्त नहुँदा नजिता आउन सकेन ।

सो प्रकरणमा प्रहरीले ८० जनाको डीएनए परीक्षण गरिसकेको छ । तर कसैको पनि मिलेको छैन । सोधपुछको क्रममा अपराध स्वीकार गरेका व्यक्तिको समेत डीएनए मेल नखाएको अवस्था छ । जबकी प्रहरीले शंका गरेका सबै जसो व्यक्तिको डीएनए परीक्षण गरिसकेको छ । यसले पक्राउ परिसकेकै व्यक्ति अभियुक्त हुनसक्ने सम्भावना पनि देखाउँछ ।

डीएनए परीक्षणका लागि नमुना संकलनमा समेत त्रुटि भएको हुनसक्ने आँकलन गरिएको छ । राष्ट्रिय मानवअधिकार आयोगले समेत यसमा प्रश्न उठाएको छ । नमुना संकलन तथा ल्याबमा ध्यान पु¥याउन नसक्दा नमुनामा असर पुग्न सक्ने र गलत नजिता आउन सक्ने विज्ञ रिजाल बताउँछन् । ‘डीएनए परीक्षण एकदमै संवेदनशील विधि हो,’ उनी भन्छन्,‘सानो त्रुटीले धेरै गढबढ हुनसक्छ, यसमा पनि कतै त्रुटि भएको हुनसक्छ ।’

अर्काे कुरा नेपालमा डीएनएबाट कुनै पनि अपराध सुल्झिएको छैन । नेपालमा सन् २००५ देखि डीएनए परीक्षण सुरु गरेको हो । राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले १४ वर्षअघि परीक्षण सुरु गरेको हो ।

नेपाल प्रहरीले डीएनए परीक्षण गर्न थालेको पाँच वर्ष मात्र भएको छ । २०७२ को भूकम्पमा मृत्यु भएका शव पहिचानका लागि पहिलोपटक डीएनए परीक्षण गरेको थियो । तर, यो अवधिमा डीएनएकै कारणबाट कुनै पनि हत्या तथा बलात्कारका घटनाको अनुसन्धान सुल्झिएको छैन । नातासम्बधि विवाद र शव पहिचानमा मात्र यो प्रभावकारी भएको छ ।

बरु डीएनए नमिलेर कतिपय आरोपी भने छुटेका छन् । राष्ट्रिय प्रयोगशलाका विज्ञ झाका अनुसार दुई वर्षअघि बलात्कार आरोपमा पक्राउ परेका बर्दियाका एक व्यक्ति डीएनए नमिलेपछि छुटेका थिए । विकसित देशहरुमा धेरै नागरिकको डीएनए रिपोर्ट राखिएको हुन्छ । जसअनुसार कुनै घटनाका संकित व्यक्तिको डीएनए भेटिएमा परीक्षण गरिन्छ । नेपालमा पनि डीएनए बैंकको आवश्यकता भएको विज्ञहरुको भनाई छ ।

अर्काेतर्फ डेढ वर्षअघि ललितपुरको गोदामचौरमा भएको बलात्कार घटनामा डीएनए नमिलेपनि अभियुक्त दोषी ठहर भएका थिए । सर्वाेच्च अदालतले विगतमा डीएनए सत्य प्रतिशत सत्य हुन्छ भन्ने मान्न सकिन्न भन्ने फैसला समेत गरेको छ । यसले पनि डीएनए प्रविधिको विश्वसनियता घटेको छ ।

के पाठ सिक्यो प्रहरीले ?

गृहमन्त्री रामबहादुर थापा बादलले गत मंगलबार निर्मला पन्त प्रकरणमा आफ्नो असफलता स्वीकार गरे । विकसित देशमा समेत सबै घटना पत्ता नलागेको र निर्मला घटनामा धेरै राजनीतिकरण गरिएको उनले आरोप लगाए ।

एक वर्ष बित्दा समेत सो अभियुक्त त पत्ता लागेका छैनन् नै, त्यो प्रकरणमा कहाँ–कहाँ कमजोरी भयो भनेर पत्ता लगाउने काम समेत हुन सकेको छैन । छानबिनका क्रममा घटनास्थलदेखि ल्याबसम्म कमजोरी भएको विवरण आइसकेका छन् । अभियुक्त त पत्ता लागेनन् नै यो घटनाबाट सिकेर अझै सुधारको प्रयास भएको छैन ।

प्रहरी प्रवक्ता विश्वराज पोखरेल भने, सो घटनामा प्रहरीको कमजोरी भएको र त्यसलाई सच्याउने काम भइरहेको बताउँछन् । कमजोरीको समीक्षा गर्दै अनुसन्धान जारी राखिएको उनको भनाइ छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अस्ति आइतबार बिहान साप्ताहिक पत्रिकाका सम्पादकहरुसँगको भेटमा निर्मला पन्तको स्थलगत हत्या अनुसन्धान गर्ने क्रममा प्रहरीलाई सहयोग पु¥याउनेभन्दा अन्योल चर्काउनेतिर केही स्थानीय लागे । स्थानीयले सहयोग गरेको भए अनुसन्धानले गति लिन्थ्यो । तर, जे भए पनि प्रहरीको कमजोरीको नैतिक जिम्मेवारी आफूले लिँदै अपराधी पत्ता लगाएरै छाड्ने प्रतिबद्धता जाहेर गरे । अपराध अनुसन्धानमा पोख्त प्रहरी महानिरीक्षक खनाल स्वयं घटनास्थल पनि पुगेका थिए । आफ्नो कार्यकालमा निर्मला हत्याको कलंक बोक्नु नपरोस् भन्ने उनको चाहना छ ।

प्रतिक्रिया दिनुहोस्