Logo
Logo

चीनद्वारा पेलोसीविरूद्ध प्रतिबन्ध घोषणा : अमेरिकाले भन्यो- ‘धेरै उत्तेजित नहुनु’


एजेन्सी


वासिंगटन । संयुक्त राज्य अमेरिकाले जापानको विशेष आर्थिक क्षेत्रमा चीनद्वारा गरिएको मिसाइल प्रक्षेपणको निन्दा गरेको छ । उक्त परीक्षण सैन्य अभ्यासको एक भाग थियो ।

अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको प्रतिक्रियास्वरूप चीनले सो कदम चालेको राष्ट्रिय सुरक्षा परिषद् रणनीतिक सञ्चार संयोजक जोन किर्बीले बताएका छन् । उनले चीनलाई पेलोसीको ताइवान भ्रमणबारे धेरै उत्तेजित नहुन आग्रह गरेका छन् ।

अगस्ट ४ मा चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिमी जलक्षेत्रमा थुप्रै ब्यालेस्टिक मिसाइलहरू प्रक्षेपण गरेको छ, जसले ताइवानको राष्ट्रिय सुरक्षालाई खतरामा पारेको छ र यस क्षेत्रमा क्षेत्रीय तनाव पनि बढाएको छ ।

लाइभ–फायर ड्रिलहरू टापुको वरिपरि रहेका विभिन्न सात क्षेत्रहरूमा शुरु गरिएको छ । चिनियाँ पीएलएले ताइवानको जलक्षेत्र र हवाई क्षेत्र नजिक संयुक्त लडाइ प्रशिक्षण अभ्यास आयोजना गरेको सिन्ह्वा समाचार एजेन्सीले यस अघि नै जनाइसकेको छ ।
बढ्दो सैन्य गतिविधिले यस क्षेत्रको राजनीतिक र सामरिक सन्तुलनमा फेरबदल आउँन सक्ने देखिन्छ ।

यसैबीच ताइवान सरकारले अन्तरराष्ट्रिय समुदायलाई ताइवानमाथि चीनको सैन्य दबाबको निन्दा गर्न आग्रह गरेको छ । यसैबीच चीनले अमेरिकी पेलोसीविरूद्ध प्रतिबन्ध घोषणा गरेको छ । आफ्नो निरन्तरको चेतावनीका बाबजुद ताइवान भ्रमण गरेको भन्दै चीनले शुक्रबार पेलोसी र उनको परिवारलाई चीन भ्रमणमा प्रतिबन्ध लगाएको ग्लोबल टाइम्सले जनाएको छ ।

ताइवान भ्रमण सकेर पेलोसी दक्षिण कोरिया हुँदै जापान पुगेकी छन् । त्यहाँ उनले ताइवानको वर्तमान स्थिति परिवर्तवन गर्ने उद्देश्यले आफूले भ्रमण नगरेको बताएकी छन् ।

‘ताइवानको वर्तमान स्थिति परिवर्तन गर्ने उद्देश्यले मेरो भ्रमण भएको होइन । अमेरिका र ताइवानबीचको सौहार्द मित्रताप्रति चीन खुसी छैनर’ उनले भनेकी छन् । पेलोसीको भ्रमणलगत्तै चीनले ताइवान केन्द्रीत सैन्य अभ्यास जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्