Logo

खुवालुङ : ढुंगामा सभ्यता



हेरिदेउ एकपटक खुवालुङ, ढुंगामा सभ्यता भेटिन्छ ।
कलियुगमा, सिकारी युगको किराती देखिन्छ ।

परापूर्वकालमा किरातीहरूले खोरिया फाँडेर बस्ती बसाले । सिकार खेले । अन्न फलाउन सुरु गरे । जीवन गुजारे ।

जीवन राम्रैसँग चल्दै थियो । उनीहरूमाथि वैरी, दुश्मनको आँखा लाग्यो । आक्रमण भयो । तर, उनीहरू डगमगाएनन् । एकजुट भए । वैरीलाई धपाए । धेरैले आफन्त गुमाए पनि आफ्नो भूमी बचाएरै छाडे ।

शोकलाई शक्तिमा बदल्दै थिए । ठूलो महामारी आयो । जानेजति, सकेजति सबै पुकारे । खोलानाला, पितृपुर्खा सबै–सबै पुकारे । तर, माङ् चुलाको भर/तागत पलाएन । जडीबुटीले कामै गरेन । काल रोकिएन । कयौँ बसाइँ सरे । धेरैले चोला फेरे ।

रोकिएन रोगव्याधी । देसानसँग लड्न सकेनन् । हावा, पानी, माटोले फापेन । गरिखान अन्तै लागे ।

विदा मागे- ‘हे हाङ्छामा मा (आमा) । हामी त तिम्रै सन्तान हौँ है । आशिष देउ, बल देउ, तिम्रो आशिष बलले गरिखाने हौँ । जहाँ गएपनि, जता गएपनि नहराउने, नमासिने हौँ है । आपतको बेलामा भागेर गयो नभन्नु । छाडेर गयो नभन्नु । खुसी मनले बाटो देखाउ है, हाङ्छामा मा ।’

मण्डला पुग्नेहरूले कलियुगमा सिकारी युग देख्नेछन् । खुवालुङसँग जोडिएको किरातको आस्था पनि बुझ्नेछन् । नाटकले पहिचानको मुद्दा मात्रै उठाएको छैन । खबरदारी पनि गरेको छ । विकासको नाममा सांस्कृतिक सम्पदाको विनाश कसरी हुन्छ भन्ने पनि खुवालुङमा देखाइएको छ ।

बिलैना गरे- ‘हे हावा मा । हे पानी मा । माटोले मात्रै पुगेन हामीलाई । बाटो देउ खुवालुङ । हे खुवालुङ, बाटो देउ खुवालुङ ।’

भोकचलन गरिआएको ठाउँ छाडेर मलिबाँसको जरा पहिल्याउँदै, पानीको मूल खोज्दै खोज्दै लागे ।

तीन किराती दाजुभाइ खोलाको तिरैतिर उभैउभो लाग्दा खुवालुङ (तमोर, अरुण र दूधकोसीको त्रिवेणी) आइपुगे । जेठा र माइला दाजु तरिगए । कान्छोलाई खुवालुङले छेक्यो । हाङ्छामा (चेली) खोलामै हेलिए ।

देसानबाट भाग्दै गरेका किरातीहरूलाई दुई पीडा एकैपटक थपियो । चेली गुमाए । कान्छो छुटिए । खुवालुङलाई साक्षी राखेर आँसु पुछ्दै छुट्टिए ।

खुवालुङ तरिजानेले भने- ‘कान्छा, अब उतै गरिखान्छ । उतै बस्छ । अब त हाम्रो देसान पनि हटिजान्छ होला ।’

पारीबाट चिच्याए कान्छा- ‘दाजै । हामी यतै बस्छौँ है । यतै गरिखान्छौँ । हाम्रो पीर, चिन्ता नगर्नु है दाजै । बाटो लाग्नु है । बाटो लाग्नु ।’

वारीबाट कराउँछन्- ‘दाजुहरूले माया मार्यो भन्ने नसम्झनु । छाडेर गयो भन्ने पनि नसम्झनु । खुवालुङलाई साँची राखेर जाँदै छुम् है ।’

‘न बिर्सी जानु, न सम्झि रहनु । ऐया ! नि लै लै…. ऐया ! नि हो….।’

खुवालुङलाई साँची राखेर कोही दूधकोशीको, कोही अरुणको, कोही तमोरको तिरैतिर लागे । जो जहाँ पुगे पनि बिर्सेनन्, खुवालुङ ।

अहिले थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ नाटक, ‘खुवालुङ : ढुंगाको बाटो’ । किरात समुदायको सभ्यताको प्रतिक मानिने खुवालुङ (ढुंगा)मा आधारित नाटक हो यो ।

नाटकको सुरुवातमा कोशी किनारमा चेफा बगाएर जीविकोपार्जन गर्नेहरूबाट सुरू हुन्छ । त्यसपछि संस्कृति, सभ्यता, दर्शनसँगै राजनीतिक घटनाक्रम समेटिन्छ ।

नाटक भन्नासाथ धेरैलाई लाग्न सक्छ, मनोरञ्जनको विषय । तर, खुवालुङ मनोरञ्जनको विषय मात्र होइन । यो किरातीको आस्था र विश्वास बुझाउने अभियान पनि होे । नाटकमा किरात सभ्यता, आस्था, संस्कृति र गरिमा जोडिएको छ ।

२०७७ फागुन ८ गतेको कुरा हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले खुवालुङ ‘ढुंगा’ क्रेन लगाएर फुटाउने अभिव्यक्ति दिए । खुवालुङलाई फुटाएर स्टिमरको बाटो ‘क्लियर’ गर्ने उनको भनाइ थियो ।

त्यसपछि ‘सेभ खुवालुङ’ अभियान चल्यो । उक्त अभियान नै अहिले नाटकघरसम्म आइपुगेको हो । मण्डला थिएटरमा मनचन भइरहेको खुवालुङ सांस्कृतिक आन्दोलनको निरन्तरता पनि हो ।

स्टिमरमै विकासको बहस चल्छ । खुवालुङलाई फुटाउने योजना बन्छ । ढुंगाले स्टिमरलाई छेक्छ । ढुंगा फोरेर भएपनि स्टिमरको यात्रा नरोक्न शासकले हुकुम दिन्छ । भन्छन्– ‘विनाश नगरी, विकास हुँदैन । फोड्नुहोस् त्यो ढुंगा, अगाडि बढ्नुहोस् ।’

त्यसपछि सुरु हुन्छ, ‘फ्ल्यासब्याक’ । सम्झिइन्छ, किरात सभ्यता ।

ढुंगा बोल्यो भने के भन्ला ? तर, खुवालुङ त्यो ढुंगा हो, जसले किराती सभ्यता बोल्छ ।

खुवालुङ त्यो ढुंगा हो, जसलाई किरातीले आफ्नो सभ्यता ठान्छन् । खुवालुङ कोसी बीचमा देखिने ढुंगा मात्र होइन, किरात समुदायको संस्कार र संस्कृति पनि हो ।

किरातीहरूको घरमा अनिवार्य रूपमा तीन लुङ (ढुंगा) विधिपूर्वक स्थापना गरी सुप्तुङ निर्माण गरिन्छ । ती तीन ढुंगालाई पाखालुङ, माखालुङ र साम्बेलुङ भनिन्छ । पाखालुङले पुर्खाको प्रतिनिधित्व गर्छ । माखालुङले आमा र साम्बेलुङले इष्टमित्र, छरछिमेक तथा अन्यको प्रतिनिधित्व गर्छ ।

तीन चुलालाई आगो, हावा र पानी पनि भन्ने गरिन्छ । त्यस्तै तीन चुलालाई खुवालुङबाट छुटिएका तीन भाइको प्रतिकको रुपमा पनि लिने गरिन्छ ।

नाटकमा सभ्यता, संस्कृति र दर्शनमात्रै छैन । विकासको नाममा सांस्कृतिक सम्पदाको विनाश कसरी हुन्छ भन्ने पनि देखाइएको छ ।

हाम्रो मौलिक संस्कृतिमाथि हस्तक्षेप बढ्दो छ । यस्ता हस्तक्षेपकारी प्रभावले सांस्कृतिक मूल्यमान्यतामा ह्रास आइरहेको छ । नाटकमा यसैलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । नाटकले विकास र आधुनिकीकरणको नाममा हुने सांस्कृतिक ज्यादतीको विरोध गरेको पाइन्छ ।

नाटकले कतै रुवाउँछ, कतै हँसाउँछ । माछासँगै उभो बग्ने रहर भएकी हाङ्छामा उँधो कोशीमा बग्दा आँसु झरेको पत्तै हुँदैन । चेफासँग खोलामा बग्दै गर्दा बाजेको कुराले हाँसो थामिँदैन ।

नाटकको अर्को सुन्दर पक्ष– विभिन्न किराती भाषाको प्रयोग । जस्तैः बाहिङ, कुलुङ, बान्तवा, सुनवार आदि । यसले किरात सभ्यता कति धनी र कति विविधता छ भन्ने पुष्टि गर्छ ।

नाटकले मातृभूमिप्रति प्रेससँगै नारीवादलाई पनि देखाएको छ । युद्धमा समातिएका कुवँरलाई मार्न खोज्दा माटोको कसम खाएपछि कसैले केही गर्दैनन् । त्यसले माटोप्रतिको आस्था दर्शाएको छ ।

नाटकले पहिचानको मुद्दा मात्रै उठाएको छैन । खबरदारी पनि गरेको छ । उनीहरूको अठोट छ– ‘तिम्रो (खुवालुङ)को रक्षा गर्न तिम्रा हरसन्तान सतिसालझैं उभिनेछन ।’

तर, किरात सभ्यता र इतिहासबारे जानकारहरूलाई नाटक खल्लो लाग्न सक्छ । मिथकसँग नाटकका कतिपय दृश्य मेल खाँदैनन् । हाङ्छामाबारे मिथक र नाटकमा तालमेल मिल्दैन । मिथकमा खुवालुङ नखुलेपछि जुरेली चराको भोग दिइएको उल्लेख छ । नाटकमा त्यो दृश्य देखिँदैन ।

मिथकअनुसार खुवालुङमा सबैभन्दा पहिले बुसुरु आइपुगे । त्यसबेला खुवालुङ बन्द थियो । उसले जुरेलीको भोग दिएपछि खुल्यो । उसले पार गरेपछि खुवालुङ फेरि बन्द भयो ।

बुसुरुपछि छछप्पा आइपुगे । छछप्पाले बुसुरुलाई कसरी पार गर्यौँ ? भनेर सोधे । बुसुरुले आफूसँग भएका चेलीको भोग दिएपछि ढोका खुलेको बताए ।

छछप्पाले अम्लिसोको पातले चेलीको खुट्टाको कान्छी औँला काटेर खुवालुङलाई रगत चढाए । चेलीको रगत परेपछि खुवालुङ सधैँका लागि खुलेको खुलेकै भयो । चेलीको भने रगत बगेर मृत्यु भयो । तर, नाटकमा बगेर मरेको देखाइन्छ ।

यसबारे लेखक राजन मुकारुङसँग जिज्ञासा राख्दा नाटकमा रगत देखाउन नसकिने भएकाले नदेखाइएको बताए । तर, युद्धमा पनि रगत देखाइएको थिएन । त्यसरी नै चेलीको मृत्युलाई पनि प्रस्तुत गर्न सकिँथ्यो होला !

किरात समुदाय अझै नेपाली व्याकरणमा कम्जोर नै छ । खासै मिलाएर बोल्दैनन् । पढेलेखेका र सहरीयाले बोल्नु बेग्लै कुरा । तर, गाउँमा ‘दिदी आइछ’, ‘बहिनी स्कुल गएको छ’ भनेरै बोलिन्छ । तर, नाटकका केही ठाउँमा शुद्ध नेपाली बोलिन्छ । सिकारी युगमा नेपाली व्याकरण नै थिएन, जहाँ प्रश्न गर्ने ठाउँ छ ।

प्रश्न गर्ने केही ठाउँहरु भएपनि मण्डालामा खुवालुङ नाकटमात्रै मञ्चन भइरहको छैन । किरात सभ्यता, आस्था र संस्कृति पनि मञ्चन भइरहेको छ । यसका लागि लेखक राजन, निर्देशक किरण चाम्लिङसहित ३० जना कलाकार धन्यवादका पात्र हुन् ।

मण्डला पुग्नेहरूले कलियुगमा सिकारी युग देख्ने नै छन् । खुवालुङसँग जोडिएको किरात आस्था पनि बुझ्नेछन् । ढुंगा कठोर होइन, अटल र अडिग हुन्छ भन्ने बुझ्नेछन् । र, भन्नेछन्- मन त ढुंगाकै हुनुपर्छ । तर, त्यो ढुंगाचाहिँ खुवालुङ हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्