Logo
Logo

यस्तो छ अध्यक्ष प्रचण्डको पाँच दिने जापान भ्रमणका कार्यतालिका



काठमाडौं – माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने भ्रमणका लागि जापान प्रस्थान गरेका छन् ।

राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानबाट शुक्रबार राति जापान प्रस्थान गरेका हुन् । उनको साथमा स्वकीय सचिव रमेश मल्ल, छोरी गङ्गा दाहाल, सूर्य किरण रहेका छन् ।

प्रचण्ड नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा त्यसतर्फ गएका हुन् । उनले शनिबार जापानको फुकुओकामा आयोजना हुने नेपाल फेस्टिभलको उद्घाटन गर्नेछन् । अगस्ट ६ मा हिरोसिमा घटना भएको ७५ वर्ष पूरा हुँदैछ । अगस्ट ७ मा अध्यक्ष प्रचण्डले हिरोसिमा भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, सोही दिन नै नेपाली जनप्रगतिशील मञ्च जापानको आयोजनामा टोकियोमा हुने नेपाली समुदायहरूबीच ‘समृद्ध नेपालको आधार : आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तरक्रियामा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।

जापानमा रहँदा जापानको सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग पनि प्रचण्डको भेटवार्ताको कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

प्रचण्ड २५ साउनमा स्वदेश फर्किनेछन् । जापान भ्रमणका क्रममा प्रचण्डले पार्टीको वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मा दिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्