दाङ । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले गठबन्धन सरकार संसदीय मूल्य मान्यतामा चल्न नसकेको बताएका छन् । शनिबार प्रेस चौतारी नेपाल दाङले घोराहीमा आयोजना गरको पत्रकार सम्मेलनमा बोल्दै नेम्वाङले यस्तो आरोप लगाएका हुन् ।

उनले प्रतिपक्ष दल नेकपा एमाले जिम्मेवारीपूर्वक प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको बताउँदै सत्ता पक्षले संसदीय मूल्य मान्यतालाई कुल्चिँदै अराजक बन्दै गएको बताए ।
‘सत्ता गठबन्धनले संविधान मान्दैन, कानुन मान्दैन’ नेता नेम्बाङले भने, ‘गठबन्धनका नेताहरुले आफू खुसी मनोमानी काम गरिरहेको छ ।’ उनले गठबन्धनको यही प्रवृत्तिका कारण मुलुक अस्थिरतातर्फ उन्मुख बन्दै गइरहेको बताए ।
नेता नेम्बाङले मुलुकको सत्ता समाल्न नेकपा एमालेको आवश्यकता महसुस जनताले गरेकाले अबको निर्वाचनमा गठबन्धन दलहरु परास्त गर्दै एमालेको उदय हुने दावी गरे ।














