धनुषा । नेपाल र भारतका सुरक्षाकर्मीहरुको त्रैमासिक संयुक्त बैठक सम्पन्न भएको छ । शनिबार जनकपुरधाममा भएको बैठकले सीमाक्षेत्रबाट हराएको सीमास्तम्भ खोजी गर्ने, पुरानो तथा जीर्ण सीमास्तम्भ मर्मतसम्भारका लागि संयूक्त टोली मार्फत सम्बन्धित निकायलाई जानकारी गराउने भएको छ ।

त्यस्तै, सीमाक्षेत्रमा हुने गरेका अपराधलाई पूर्णरुपेण नियन्त्रण गर्ने, लागुऔषध ओसारपसारको निगरानी तथा नियन्त्रण गर्ने र चेलीबेटी बेचबिखन नियन्त्रण तथा मंसिर ४ गते हुन लागेको निर्वाचनको सम्बन्धमा छलफल भएको एक अधिकारीलेले जानकारी दिए ।
नेपाली सीमा अतिक्रमण भएको तथा पुल निर्माणमा भारतीय सुरक्षाकर्मीको तर्फबाट पुल निर्माणमा अवरोध भइरहेको गुनासो आउन थालेपछि मधेश प्रदेशसँग जोडिएर रहेको नेपाल–भारत सीमाक्षेत्र तर्फ सीमास्तम्भ खोजी तथा जीर्ण रहेकोलाई मर्मत सम्भार गरिने भएको हो ।
त्यस्तै, वर्षाका कारण बाढीको जोखिम रहेकाले यस समयमा सीमाक्षेत्र अवस्थित नदीमा आउने बाढीले हुने क्षतिलाई मध्यनजर गर्दै धनजनको क्षती, नदी कटान तथा सीमाक्षेत्र अवस्थित सीमास्तम्भको समेत अनगुमन गर्ने निर्णय भएको छ ।
कतिपय सीमास्तम्भहरू पुराना तथा जीर्ण भएकाले तत्काल मर्मत सम्भार गर्नुपर्ने आवश्यकता रहेको र कतिपयस्थानमा सीमास्तम्भ हराएको भनि आएको जानकारी अनुसार पनि सीमाक्षेत्रमा रहेको सीमास्तम्भका लागि अनुगमन गर्ने निर्णय भएको छ ।














