
काठमाडौं । सत्ता गठबन्धन दलले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि सिट बाँडफाँट गर्न गठिन कार्यदलको पहिलो बैठक आज बस्दै छ ।
मंसिर ४ गते तोकिएको निर्वाचनको सिट बाँडफाँटको मोडालिटी तयार पार्न बनाइएको कार्यदलको बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तयारी गरिएको कार्यदलका एक जना सदस्यले जानकारी दिए।
साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आसन्न निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।
कार्यदलमा नेपाली काँग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट वर्षमान पुन र जर्नादन शर्मा छन् । यस्तै, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।














