Logo
Logo

प्रहरीमा म्याडमहरूकै रजगज



काठमाडौं । चुनावको मुखमा नेपाल प्रहरीमा बिचौलिया हावी भएका छन् । पछिल्ला सरुवामा बिचौलियाको चलखेलबाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह समेत दिक्क भएका छन् ।

पछिल्ला एसपी र डिएसपीको सरुवामा ठूलो आर्थिक चलखेल भएको छ । जसमा प्रधानमन्त्रीपत्नी आरजु देउवा प्रत्यक्ष रुपमा सहभागी भएका छन् । भूषण राणा र रामचन्द्र भट्टले आरजुमार्फत तथा महेन्द्र यादब, रामहरी खतिवडा लगायतले गृहमन्त्री बालकृष्ण खाँणमार्फत सरुवामा आर्थिक चलखेल गर्दै आएका छन् । सोही कारण डिएसपी सरुवामा पैसा कमाउने र बुझाउनेहरु हावी भए इमान्दार प्रहरी अधिकृतहरु किनारा लागेका छन् । प्रहरी महानिरीक्षकले १–२ जनालाई पनि आफूले चाहेको ठाउँमा पठाउन नसकेको स्रोत बताउँछ ।

यसपटक उपत्यकाका १० वटा वृत्तका प्रमुख फेरिए । जसमा कोही शक्तिकेन्द्रमार्फत त कोही पैसाको चलखेल गरेर त्यहाँ पुगेका छन् । लैनचौर वृत्तमा पुगेका गणेश बम कार्यक्षमतामा कमजोर मानिन्छन्, तर भानु देउवाको कारण उनी त्यहाँ पुगेका हुन् । कांग्रेस नेता नारायणसिंह खड्का र एक न्यायाधीशको सिफारिसमा कोपिला चुँडाल दरबारमार्ग वृत्त पुगेकी छिन् । डिएसपी अंगुर जिसी स्वभाविक रुपमा वृत्तको दाबेदार हुन् तर उनले पनि कांग्रेस नेताकोमा पुगेर मात्र पोष्टिङ पाएको स्रोत बताउँछ ।

बालाजु वृत्तका रबिन बिष्ट चलखेलकै आधारमा गएका हुन् । मालीगाउँ वृत्तमा पुगेका तर्कराज पाण्डेय बिचौलियामार्फत सरुवा भएका हुन् । सोही कारण इन्चार्जबाट उनको इन्चार्जमै सरुवा भयो । कांग्रेस नेता मोहन बस्नेत लगायतको आशिवार्दमा हरि बस्नेत बौद्ध पुगे भने अख्तियारको सिफारिसमा संजीवबाबु खड्का गौशाला वृत्त पुगेका छन् ।

यसअघि महाराजगञ्ज बसिसकेका गोविन्द पुरीलाई सिंहदबार वृत्त दिइएको छ । इप्रका र जिल्ला गएकाहरु पनि सबैजसो चलखेलकै आधारमा पुगेका छन् ।
एक प्रहरीका अनुसार सरुवाका आकांक्षीहरुका डिल गर्न बिचौलियाहरु आफैं पुग्ने गरेका छन् । जसअनुसार कतिपय सरुवामा ५० लाखसम्मका लेनदेन भएका छन् । बाँकेमा सरुवाका लागि पनि न्यूनतम ५० लाख रेट राखेर मोलतोल भइरहेको स्रोत बताउँछ । पैसा बुझाएर जान चाहेनलाई आइजिपीले रोकेकाले सरुवा निस्कन नसकेको हो ।

यसअघि लेखापाल सरुवामा पनि ठूला आर्थिक चलखेल भएको छ । सबैजसँग पैसा उठाएर लेखापालको अवधि ६ वर्षबाट ८ वर्ष बनाइएको थियो । गृह मन्त्रालयकै नेतृत्वमा यस्तो चलखेल भएको थियो । सिडिओ तथा प्रहरी सरुवामा बिचौलिया र म्याडमहरुको रजगज चलिरहेको छ । सरुवामा सेटिङ मिलाउनकै लागि पूजा सिंहलाई एआइजमिा बढुवा मानवस्रोत विभागमा राखिएको छ ।

प्रहरीको सरुवा–बढुवामा यो तहको लेनदेन कहिल्यै थाहा नभएको प्रहरी अधिकारीहरु बताउँछन् । सिपाहीको सरुवामा समेत पैसा उठाउने गरिएको छ । चुनावको मुखमा प्रहरी संगठनमा भएको यस्तो भ्रष्टीकरणले शान्ति सुरक्षामै असर पर्ने जोखिम देखिएको छ । पैसा बुझाएर तराईका जिल्लामा गएकाहरु तस्करीको लाइन खोल्न थालिसकेका छन् ।

गृहमन्त्रीका साथी वीरगञ्जका प्रमोद शर्माले सरुवाका नाममा मोटो रकम उठाएका छन् । उनको बास नै गृह मन्त्रालय र मन्त्री निवासमा हुने गरेको छ । शर्मा र गृहमन्त्री बालकृष्ण खाणका पिए नरेन्द्र केसीको चलखेलले प्रहरी अस्तव्यस्त भइसकेको छ ।

सिंगो गृह मन्त्रालय पैसा उठाउनेमा केन्द्रीत भएपछि आगामी दिनमा सुरक्षाको अवस्था के होला भन्ने चिन्ता थपिएको छ । ‘बिशेष ब्यूरोले प्लेन नै रोकेर सामान्य व्यापारीलाई पक्राउ गर्नु यही चलखेलको परिणाम हो,’ एक प्रहरी अधिकारी भन्छन्,‘अब यही तरिकाले नेपाल प्रहरीको अवस्था नगरपालिकाको प्रहरी जस्तो हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्