
१. चितवन क्षेत्र नम्बर तीनबाटै निर्वाचन लड्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को घोषणा, देशको केन्द्रविन्दुमा भएको र विकासको तीव्र गतिमा अगाडि जाने सम्भावना भएकाले देशैभरीलाई सन्देश दिन चितवनलाई महत्व दिएको भनाइ, प्रधानमन्त्री बन्ने दौडमा नरहेको अभिव्यक्ति, देशमा सुशासन र विकासको वतावरण बनोस् भन्ने चाहना भएको तर्क ।

२. प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका मिति घोषणा भएसँगै नेकपा एमाले तयारीमा जुट्यो, निर्वाचन आयोगमा दल दर्ता, विना उद्देश्य गठबन्धन गरेर जाने पक्षमा नरहेको महासचिव शङ्कर पोखरेलको भनाइ ।

३. प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईबीच भेटवार्ता, सत्ता गठबन्धन, आगामी निर्वाचनमा चुनावी तालमेल र समसामयिक राजनीतिक विषयमा छलफल, बाबुरामको पार्टी गठबन्धनमा सामेल गराउन देउवा सकारात्मक, गठबन्धन बनाउन आफ्नो महत्वपूर्ण भूमिका रहेको भन्दै गठबन्धनमा सामेल गराउन बाबुरामको आग्रह ।

४. आगामी निर्वाचनमा महिलाको समानुपातिक सहभागितामा कानुनी अवरोध भए आवश्यक संशोधन गर्न सरकार तयार, क्रमिकरूपमा महिला सहभागिताको सुनिश्चितता हुँदै आएको र आगामी दिनमा व्यवहारिकरूपमा पनि बढ्दै जाने कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाको विश्वास, नीति, कानुन, व्यवहार, अभ्यास र दृष्टिकोणमा अवरोध भएमा त्यसलाई हटाइने ।

५. निर्वाचनलाई निष्पक्ष, भयरहित, विश्वसनीय र मितव्ययी बनाउने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको प्रतिबद्धता, स्थानीय तह निर्वाचनका क्रममा प्राप्त रायसुझाव, प्रतिक्रिया र असल अभ्यासलाई समेटेर ऐतिहासिकरूपमा निर्वाचन सफल बनाउने दृढता, सहरी क्षेत्रका शिक्षित जनताबाट मतदान कम भएकामा चिन्ता व्यक्त, निर्वाचन सरल, सहज र मितव्ययी ढङ्गबाट सम्पन्न हुने विश्वास ।

६. ६० वर्षसम्म निजामती कर्मचारीको सेवा अवधि कायम हुने कानूनी व्यवस्था गर्ने सरकारको तयारी, संघीय निजामती ऐन, २०४९ को संशोधन विधेयकमा ५८ वर्षे सेवा अवधिलाई बढाएर ६० वर्षे बनाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तयार, विधेयकको मस्यौदा सहमतिका लागि अर्थमन्त्रालयमा पठायो ।

७. अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा एकै दिन पाँचवटा मुद्दा दर्ता, मुगुको डिभिजन वन अधिकृत भरतबहादुर बुढथापा, जिल्ला विकास समितिको कार्यालय कालीकोटका तत्कालीन खरिदार राजबहादुर बम, जिल्ला विकास समिति कालीकोटका तत्कालिन ‘एलएपीए’ कार्याक्रम संयोजक कमलप्रसाद खनाल, अल्लो भाँगो प्रशोधन केन्द्र, कालीकोटको भवन निर्माण उपभोक्ता समितिका पदाधिकारी र केषि विकास कार्यालय कालीकोटका तत्कालीन प्रास रत्नप्रसाद पाण्डेविरुद्ध छुट्टाछुट्टै मुद्दा ।

८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो, ४३.३५ अङ्कले घटेर दुई हजार ६२.८० अङ्कमा सीमित, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ इनडेक्स ८.६८ अङ्कले घटेर ३९७.४३ मा झर्यो, २२२ कम्पनीको ६६ लाख ४६ हजार ३६ कित्ता शेयर दुई अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५९८ रुपैयाँमा खरिद बिक्री, १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट ।

९. ताइवानी सेनाले पनि सुरु गर्यो सैन्य अभ्यास, पिङतुङको दक्षिणी काउन्टीमा सैन्य अभ्यास भइरहेको ताइवानको आठौं आर्मी कोप्रसका प्रवक्ता लोउ वोई–जेद्वारा जानकारी, इजरायली सेनाको कारबाहीमा क्षेत्रीय लडाकू कमाण्डर इब्राहिम अलनाबुलसहित तीन प्यालेस्टाइनी मारिए, अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको फ्लोरिडास्थित घरमा संघीय अनुसन्धान निकाय एफबीआईको छापा ।

१०. पूर्व कप्तान ज्ञानेन्द्र मल्लको राष्ट्रिय क्रिकेट टोलीमा पूनरागमन, केन्यासँग हुने पाँच टि–२० आई र तीन एकदिवसिय अभ्यास खेलको अन्तिम टोलीमा ज्ञानेन्द्र समेटिए, युवा विकेटकिपर अर्जुन साउद पहिलो पटक टोलीमा, पहिलो ट्वान्टी–२० अगस्ट २५ मा हुनेछ भने दोस्रो अगस्ट २६, तेस्रो अगस्ट २८, चौथो अगस्ट २९ र अन्तिम अगस्ट ३० मा हुने, पहिलो एकदिवसीय सेप्टेम्बर २, दोस्रो एकदिवसीय सेप्टेम्बर ३ र अन्तिम एकदिवसीय सेप्टेम्बर ५ मा हुने ।















