काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई जिम्मा लगाउन खोजिएको भन्दै आपत्ति जनाएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठक सुरु हुनासाथ एमालेका सांसद खगराज अधिकारीले चालु आवको बजेटको बुँदा नं १५१ मा गरिएको व्यवस्थानुसार निजी क्षेत्रलाई जिम्मा लगाउन खोजिएको बताए ।

पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री अधिकारीले स्वास्थ्य बीमा कार्यक्रमलाई असफल बनाउन खोजिएको आरोप लगाए । एमालेकै सांसद महेश बस्नेतले मङ्गलबार रातिको अविरल वर्षाका कारण आएको बाढीका कारण काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा डुबानमा परेको जनाउँदै प्रभावितलाई तत्काल राहतको प्रबन्ध गर्न माग गरे ।
उनले नेपाल इन्जिनियरिङ कलेजका सम्बन्धमा देखिएको बेथितिको अन्त्यका लागि सरकारको ध्यानकर्षण गराए ।














