Logo
Logo

न्याय परिषद्को कार्यालयमा तोडफोड


4.3k
Shares

काठमाडौं । न्याय परिषद्को कार्यालयमा तोडफोड भएको छ । गोरखा फुजेलका नुरप्रसाद अधिकारीले न्यायपरिषद्‌ कार्यालयमा तोडफोड गरेका हुन् ।

आफूविरुद्ध पक्राउ पुर्जी जारी गर्ने ललितपुर जिल्ला अदालतका न्यायाधीशमाथि भ्रष्टाचारलगायतका आरोप लगाउँदै उजुरी दिन भनी न्यायपरिषद् कार्यालय पुगेका उनले झ्यालढोकासहित विभिन्न सामग्री तोडफोड गरेका हुन् ।

परिषद्का प्रवक्ता मानबहादुर कार्कीकाअनुसार अधिकारीले परिषद्को मुद्दा शाखामा तोडफोड गरेका छन् । साथै न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको कार्यकक्षको ढोकामा समेत फोडेर उनी भित्र पसेका थिए । अधिकारीलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ ।

न्यायाधीशले उनीविरुद्ध अदालतको फैसला कार्यान्वयनमा अवरोध पुर्‍याएको भन्ने रिटमा पक्राउ पुर्जी जारी गरेका थिए ।

गोरखा फुजेलकी गंगामायाका १७ वर्षीय कान्छा छोरा कृष्णप्रसाद अधिकारीलाई तत्कालीन माओवादीले चितवनमा अपहरण गरी २०६१ जेठ २४ गते हत्या गरेको आरोप छ ।

त्यसपछि गंगामाया र उनका पति नन्दप्रसाद अधिकारीले राज्यका हरेक निकायमा पुगेर छोराको हत्यामा संलग्नलाई कानुनअनुसार कारबाही गरिपाऊँ भनी निवेदन दिएका थिए । तर, कतै पनि सुनुवाइ नभएपछि उनीहरू काठमाडौं आएर २०७० साउन देखि प्रधानमन्त्री कार्यालय बालुवाटार अगाडि सडकमै अनशन बस्न सुरु गरेका थिए ।

सत्याग्रहमा बस्दाबस्दै अवस्था नाजुक भएपछि सरकारले अधिकारी दम्पतीलाई वीर अस्पतालमा लगेर राखेको थियो । अस्पतालमै पनि दुवैले सत्याग्रह जारी राखेका थिए । सत्याग्रहको २ सय ३४ औं दिन २०७१ असोज ६ गते नन्दप्रसादको अस्पतालमै मृत्यु भएको थियो । त्यसपछि केही समय तोडिएको अनशन विभिन्न समयमा गंगामायाले जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्